बच्चा चोरी गरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा भएकी छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले पक्राउ परेकी मनकुमारी सिंहसँग एक लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। धरौटी बुझाएर उनी छुटिसकेकी छन्।
दैलेख नौमुले गाउँपालिका-१ घर भई काठमाडौं काँडाघारी बस्ने २४ वर्षीया मनकुमारीले फागुन ११ गते प्रसुति गृह थापाथलीबाट बच्चा चोरी गरेकी थिइन्।
बच्चा चोरी भएपछि प्रहरीले उनलाई त्यही राति पक्राउ गरेको थियो। बच्चाको पनि उद्धार भएको थियो।
प्रहरी वृत्त सिंहदरबारले उनीविरूद्ध अपहरण तथा शरीर बन्धक कसुरमा अनुसन्धान गरी चैत २ गते मुद्दा दायर गरेको थियो। त्यसमा सुनुवाइ गर्दै आइतबार न्यायाधीश अधिकारीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।