प्रहरीले सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्डमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान गर्ने भएको छ।
सोमबार सर्वोच्चमा हतियार बोकेर जान खोजेका बडिगार्डहरू दीपक खड्का र रामकुमार धिमालमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान गर्न लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।
काठमाडौं जिल्ला सरकारी वकिलका सहायक न्यायाधिवक्ता चन्द्र संजेलले पनि प्रसाईंका बडिगार्डहरूमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान गर्नुपर्ने देखिएको बताए।
त्यसमाथि अनुसन्धान गरेर मुद्दा चलाउने वा नचलाउने भन्नेबारे निर्णय हुने उनले बताए।
‘अहिले हामीले हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद चाहिने भएकाले म्याद थपका लागि लगेका छौं,’ उनले भने, ‘पछि अनुसन्धान गर्दै जाँदा भेटिएका प्रमाणहरूको आधारमा अदालतमा यही मुद्दा लैजाने वा नलैजाने निर्णय हुने हो।’
प्रहरीले कुनै पनि व्यक्तिलाई पक्राउ गरेपछि २४ घण्टाभित्र अदालतमा पेश गर्नुपर्ने व्यवस्था छ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ मा अनुसन्धानको लागि हिरासतमा राख्न सकिने अवधि र तत्सम्बन्धी कार्यविधि उल्लेख छ। उक्त दफा अनुसार पक्राउ परेका खड्का र धिमाललाई अदालत उपस्थित गराइएको हो।
उनीहरू सोमबार बिहान पौने ११ बजे दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालत प्रवेश गर्न खोजेका थिए।
सर्वोच्च अदालतको मूलगेटमा रहेका प्रहरी निरीक्षक विजय भण्डारी सहितको टोलीले चेक गर्नेक्रममा उनीहरूबाट बन्दुक बरामद गरेको हो।
‘ठूले स्वीडेन’ लेखिएको कालो रंगको झोलाभित्र स्वचालित हतियार एउटा, सानो दुई वटा म्यागजिन, दुई वटा ठूलो म्यागजिन, एउटा म्यागजिन होल्डर, १०० राउण्ड गोली पनि बरामद भएको छ।
प्रहरीका अनुसार बरामद भएको हतियार जिल्ला प्रशासन कार्यालय झापाबाट इजाजत प्राप्त भएको हो।
इजाजत प्राप्त नै भएपनि सर्वोच्च अदालत जस्तो संवेदनशील ठाउँमा हतियार लग्न पाउने/नपाउने भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
यसो त जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वोच्च अदालत आसपासलाई निषेधित क्षेत्र तोकेको छ। प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले निषेधित क्षेत्र तोकिएको ठाउँमा त्यसरी हतियार नै लग्न नपाइने बताए।
‘निषेधित क्षेत्र तोकिएको ठाउँमा पाँच जना भेला पनि हुन पाइन्न। हतियार नै लग्ने कुरा कसरी पाइएला?,’ उनले भने, ‘यस विषयमा प्रहरीबाट अनुसन्धान भइरहेको छ। प्रसाईंका हरेक गतिविधिमाथि प्रशासनको उच्च निगरानी छ। त्यहीक्रममा उनका बडिगार्डहरू हतियारसहित पक्राउ परे।’