सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडीगार्डलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ।
जिल्ला अदालत काठमाडौंले मंगलबार दुई जना बडीगार्डलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
सोमबार सर्वोच्चमा हतियार बोकेर जान खोजेका दुर्गा प्रसाईंका बडीगार्डहरू दीपक खड्का र रामकुमार धिमालमाथि प्रहरीले हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो।
काठमाडौं जिल्ला सरकारी वकिलका सहायक न्यायाधिवक्ता चन्द्र संजेलले पनि प्रसाईंका बडीगार्डहरूमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान गर्नुपर्ने देखिएको बताएका थिए। त्यसमाथि अनुसन्धान गरेर मुद्दा चलाउने वा नचलाउने भन्नेबारे निर्णय हुने उनले बताए।
'अहिले हामीले हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद चाहिने भएकाले म्याद थपका लागि लगेका छौं,' उनले भने, 'पछि अनुसन्धान गर्दै जाँदा भेटिएका प्रमाणहरूको आधारमा अदालतमा यही मुद्दा लैजाने वा नलैजाने निर्णय हुने हो।'
प्रहरीले कुनै पनि व्यक्तिलाई पक्राउ गरेपछि २४ घन्टाभित्र अदालतमा पेस गर्नुपर्ने व्यवस्था छ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ मा अनुसन्धानका लागि हिरासतमा राख्न सकिने अवधि र तत्सम्बन्धी कार्यविधि उल्लेख छ। उक्त दफाअनुसार पक्राउ परेका खड्का र धिमाललाई अदालत उपस्थित गराइएको थियो।
उनीहरू सोमबार बिहान पौने ११ बजे दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालत प्रवेश गर्न खोजेका थिए।
सर्वोच्च अदालतको मूलगेटमा रहेका प्रहरी निरीक्षक विजय भण्डारी सहितको टोलीले जाँच गर्ने क्रममा उनीहरूबाट बन्दुक बरामद भएको हो।
'ठूले स्वीडेन' लेखिएको कालो रङको झोलाभित्र स्वचालित हतियार एउटा, सानो दुइटा म्यागजिन, दुइटा ठूलो म्यागजिन, एउटा म्यागजिन होल्डर, १०० राउन्ड गोली पनि बरामद भएको छ।
प्रहरीका अनुसार बरामद भएको हतियार जिल्ला प्रशासन कार्यालय झापाबाट इजाजत प्राप्त भएको हो।
इजाजत प्राप्त नै भए पनि सर्वोच्च अदालत जस्तो संवेदनशील ठाउँमा हतियार लग्न पाउने/नपाउने भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।