काठमाडौं उपत्यकामा बुधबार बिहान देखि झरी परेको छ।
आज बिहानदेखि उपत्यकाका केही स्थानमा पानी रोकिएपनि केही स्थानमा भने छिटपुट वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीका कारण मध्य र पूर्वी क्षेत्रमा बुधबारदेखि नै वर्षा भइरहेको छ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार झापा, इलाम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, खोटाङ, सुनसरी, सिन्धुली, रामेछाप, दोलखा, मकवानपुर, सप्तरी लगायत कोशी र मधेश प्रदेशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ।
तीमध्ये केही स्थानहरूमा मध्यम वर्षा पनि भएको मौसमविद् अधिकारीले बताए।
काठमाडौंमा हिजो बिहानदेखि रातिसम्मै हल्का वर्षा भएको छ। केही स्थानमा हल्का र केही स्थानमा मध्यम वर्षा भएको छ।
दिउँसोदेखि परेको झरी बेलुका रोकिएर राति २ बजेदेखि पुनः सुरू भएको अधिकारीले बताए।
महाशाखाको वेभसाइटमा उल्लेख भएअनुसार त्रिभुवन विमानस्थल क्षेत्रमा पछिल्लो २४ घन्टामा १३ मिलिमिटर पानी परेको छ।
त्यस्तै काठमाडौंकै धापा बाँध आसपास ११.८, बबरमहल क्षेत्रमा ११.८, कीर्तिपुरमा ११.८, कपन क्षेत्रमा ९.६, बूढानीलकण्ठ क्षेत्रमा ६.८ र सुन्दरीजल क्षेत्रमा २.४ मिलिमिटर वर्षा मापन भएको छ।
त्यस्तै गोदावरीमा २०.२, लेलेमा २१.६, खुमलटारमा ३.६ मिलिमिटर वर्षा मापन भएको छ।
आज अपराह्नपछि पनि काठमाडौं उपत्यकामा वर्षाको सम्भावना रहेको अधिकारीले बताए।
मौसम आजैदेखि सामान्य सुधार हुने अधिकारीले बताए।
'तर उल्लेख्य सुधार चाहीँ भोलिदेखि हुने देखिन्छ,' उनले भने।