९ किलो सुन प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ।
बुधबार र बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिइएको प्रमुख एवं सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिए।
उनको ३-४ घण्टा बयान लिइएको श्रेष्ठले बताए।
‘महराको बयान सकिएको छ। हिजो र आज बयान लिइएको हो। आज ३ घण्टा जति बयान भयो। हिजो पनि त्यस्तै ३-४ घण्टा जति बयान लिइएको थियो,’ उनले भने।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत सोमबार (चैत ५ गते) महरालाई पक्राउ गरेको थियो।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरामाथि मुद्दा चलाउन सिफारिस गरेको थियो। उक्त सिफारिस भएपछि सिआइबीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि हिरासतमा राखेको हो।
उनलाई काठमाडौं जिल्ला अदालतले मंगलबार चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो। अदालतले सिआइबीलाई महरा बिरामी भएको भन्दै अस्पतालमा राख्न भनेको थियो।