ललितपुरस्थित नवनिर्मित जेष्ठ वर्ण महाविहार भवनको उद्घाटन गरिएको छ।
शुक्रबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र सहरी विकास मन्त्री धनबहादुर बुढाले संयुक्त रूपमा उक्त भवनको उद्घाटन गरेका हुन्।
नेपालको सांस्कृतिक सम्पदा क्षेत्रका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदानबाट उक्त भवन निर्माण गरिएको थियो।
२०७२ सालको गएको भूकम्पले क्षति पुर्याएको जेष्ठ वर्ण महाविहारको भारत सरकारले उपलब्ध गराएको करिब १३ करोड ७८ लाख अनुदान सहयोगमा पुनर्निर्माण भएको बताइएको छ।
भारत सरकारले नेपालका ७ वटा जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदा स्थलको संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ।
यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत भारत सरकारले नेपालको गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी आवास, आठ जिल्लामा ७१ वटा शैक्षिक संस्था तथा १० जिल्लामा १ सय ३२ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माणका लागि सहयोग गरेको बताएको छ।