कमेडी च्याम्पियनका प्रतियोगी चढेको गाडी शुक्रबार भक्तपुरमा दुर्घटनामा परेको छ।
बिहान अन्दाजी साढे ३ बजे सूर्यविनायक नगरपालिका वडा नम्बर १० मा कार दुर्घटनामा परेको हो। बागमती प्रदेश ०१-०२६ च ०३५९ नम्बरको कार अनियन्त्रित भई प्रदेश ३-०१-००३ क ६२९८ नम्बरको टिपरसँग ठोकिएको थियो।
दुर्घटनामा कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीसहित ६ जना घाइते भएको र तीमध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिए।
कारमा कमेडी च्याम्पियनका निर्देशक भण्डारीसहित पूजन अधिकारी, सुशान्त बस्याल, रजनेस अर्याल, प्रकृति गिरी र पवन भट्टराई घाइते भएका छन्। भण्डारी र अधिकारी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। अरूको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको डिएसपी पाठकले बताए।
उनका अनुसार गम्भीर घाइते हुनेमा बस्याल छन्। अन्य सामान्य घाइते छन्।
दुर्घटना कसरी भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनामा प्रहरीले विशाल र पूजनलाई नियन्त्रणमा लिएको छ। टिप्पर चालक सागर पौडेललाई पनि प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ।