दाङमा स्थानीयले बन्द गरेको हुलाकी सडक प्रहरीले बल प्रयोग गरी खुलाएको छ।
बसको ठक्करबाट दुई जनाले ज्यान गुमाएपछि राहतको माग गर्दै राजपुर गाउँपालिका वडा नम्बर ५ मा स्थानीयले हुलाकी सडकखण्ड अवरूद्ध गरेको थियो।
आइतबार बिहान सवा ११ बजेदेखि अवरूद्ध रहेको हुलाकी सडक प्रहरीले बल प्रयोग गरी खुलाएको हो। स्थानीयले करिब डेढ घण्टा सडक अवरूद्ध गरेका थिए।
प्रहरीले सडकखण्ड बन्द गर्नेलाई सम्झाउँदा पनि नमानेपछि प्रहरीले लाठी चार्ज गरेको हो।
जंग्रहवा र नौसहरा बीचमा रहेको कोरियाखोला पुल नजिक शनिबार राति पौने ८ बजे रा १ ख २३६० नम्बरको बसले रा ७ प २०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना स्थानीय युवकको मृत्यु भएको थियो।
बसको ठक्करबाट मोटरसाइकलमा सवार राजपुर गाउँपालिका-५ का २४ वर्षीय प्रमोद यादवको घटनास्थलमै र पछाडि सवार २३ वर्षीय प्रदीप यादवको उपचारका लागि बाँकेको कोहलपुर तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।
त्यसैलाई लिएर बसका चालकले लापरबाही गरेको भन्दै उचित राहतको मागसहित पीडित पक्षले सडकखण्ड अवरूद्ध पारेका थिए।