ललितपुर महानगरपालिकाले वातावरण र पर्यावरण क्षेत्रमा काम गर्न ‘वातावरण प्रहरी’ को व्यवस्था सुरू गरेको छ।
बिहीबारदेखि महानरगरले वातावरण प्रहरीको व्यवस्था सुरू गरेको हो। यूएसएडसँग ‘स्वच्छ हावा’ कार्यक्रमसँग सहकार्य गरी १५ जना नगर प्रहरीलाई तालिम दिन लागेको छ।
आजदेखि सुरू भएको तीन दिने तालिममा नगर प्रहरीले वातावरण कसरी स्वच्छ, सफा राख्ने, बोटबिरूवाको संरक्षण गर्ने विषयमा विज्ञबाट ज्ञान लिने मेयर चिरीबाबु महर्जनले बताए।
'वातावरण प्रहरीको व्यवस्था गर्ने ललितपुर महानगर सम्भवत पहिलो स्थानीय तह हो,' उनले भने, 'ललितपुरलाई ‘क्लिन सिटी’ बनाउने अभियान जारी राख्ने छु।'
यस्तै, कार्यक्रममा स्वच्छ हावा कार्यक्रममा प्रमुख एवं वातावरण विज्ञ भूषण तुलाधरले वातावरण प्रहरीको व्यवस्था गरेर ललितपुर महानगरले उदाहरणीय काम गरेको बताए।
'आगलागी र डढेलो नियन्त्रणमा जाँदा फायर फाइटरहरूको ज्यान जोखिममा रहन्छ,' उनले भने, 'जोखिमभित्र रहेर उनीहरूले वातावरण स्वच्छ राख्ने गरेका छन्।'
महानगरको वातावरण सम्बन्धी नीतिलाई कार्यान्वयन गर्ने र नागरिकको सुरक्षा वातावरण प्रहरीको मुख्य काम भएको उनले बताए।
महानगरकी उपमेयर मन्जली शाक्य बज्राचार्यले स्वच्छ हावा बनाउनु प्रत्येक नागरिकको कर्तव्य रहेको बताइन्।
'ललितपुर महानगरले स्वच्छ हावा र वातावरण पर्यावरणीय कार्य अन्तर्गत विभिन्न स्थानमा ४० वटा पार्क बनाइसकेको छ,' उनले भनिन्, 'अब ४५ रोपनी जग्गामा पोखरीसहितको ठूलो पार्क बनाउने तयारी छ।'