काभ्रेको बनेपास्थित पुण्यश्वर बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक कुमार गौतम पक्राउ परेका छन्।
रामेछापको सुनापती गाउँपालिका वडा नम्बर १ घर भई काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ७ बस्ने ३४ वर्षीय कुमार गौतम पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार गौतमलाई काठमाडौंको मूलपानीबाट पक्राउ गरी काभ्रे पुर्याइएको छ।
गौतमविरूद्ध ठगी सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ। केही समयअघि उनी र उनका बुबाविरूद्ध सहकारी ठगी गरेको मुद्दामा जाहेरी परेको थियो।
जाहेरी परेसँगै प्रहरीले उनको खोजी गरिरहेको थियो।
उनी काठमाडौंमा रहेको सूचना पाएपछि काभ्रेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
डिएसपी श्रेष्ठका अनुसार यस मुद्दामा जाहेरी आउने क्रम जारी नै छ। अहिलेसम्म साढे २ करोड रूपैयाँको बिगो कायम हुने जाहेरी परेको प्रहरीले जनाएको छ।
यसमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।