रूपन्देहीका सुरक्षा प्रमुखहरूले कैदी बन्दीसँगै नयाँ वर्ष मनाएका छन्।
शनिबार जिल्ला कारागारमा एक कार्यक्रमको आयोजना गरी जिल्लाका सुरक्षा प्रमुखहरूले कैदीबन्दीसँगै नयाँ वर्ष मनाएका हुन्।
कैदी बन्दीहरूलाई पनि नयाँ वर्षमा रमाइलो होस् भन्नका लागि कारागारभित्रै शुभकामना आदान प्रदान गरिएको हो।
कर्मचारी मिलनकेन्द्र रुपन्देहीको संयोजनमा आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुख र कैदीबन्दीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले परिस्थिती, परिबन्द र नियतीले कारागारमा रहनुपरेपनि राष्ट्रिय पर्वहरु र अन्य कुनै राष्ट्रिय सन्दर्भ पारेर कैदीबन्दीहरु सँग भेटघाटको सुरुवात गरिएको बताए। उनले कारागारमा रहँदा जीवन नै सक्कियो भनेर चिन्ता लिने नभई यहाँ रहँदाका दिनलाई सिर्जनशील बनाउन आग्रह गरे।
‘तपाईंहरु कारागारमा रहनु परेपनि जीवन यसैगरी बित्ने होइन यहाँबाट बाहिर गएपछि सुन्दर समयले पर्खिएर बसेको छ भनेर लिनुहोला, यो समयलाई कालो दिनको रुपमा लिएर यहाँबाट बाहिर गएपछि देश, समाज र परिवारको जिम्मेवार सदस्यको रुपमा भूमिका निर्वाह गर्नुपर्ने दायित्व तपाइँहरुको पनि हो, राष्ट्रलाई तपाइँहरु जस्ता युवाको खाँचो छ,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने।
प्रमुख जिल्ला अधिकारी अर्यालले हरेक समय अध्ययनशील र सिर्जनशील बनाउन पनि आग्रह गरे।
‘हरेक क्षण, हरेक पललाई कसरी अन्यत्र लगेर दिमागलाई शान्त बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुहोला, स्वर्गीय नेशनल मण्डेलाले पनि ३२ वर्ष कारागारमै बिताउनुभएको थियो तर, कारागारबाट बाहिर निस्किएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति बन्नुभएको थियो। तपाइँहरुले पनि आफ्नो जिवनलाई सुन्दर बनाउँछु भन्ने मनन गरेर यहाँ बस्दाका दिनलाइ सिर्जनामा लगाउनुहोला, लाईब्रेरी छ त्यहाँका पुस्तक अध्ययन गर्नुहोला,’ उनले भने।

कानुन उलंघन गरेपछि कानुनले तोकेको सजायँ भोग्नै पर्ने भएपनि कारागारमा बस्दाका दिनलाई कसरी सहज बनाइदिन सकिन्छ भन्नेतर्फ आफू संवेदनशील रहेको उनले बताए। प्रमुख जिल्ला अधिकारी अर्यालले रूपन्देही कारागारमा जस्तो कैदी बन्दीहरुसँग चाडपर्व मनाउने प्रचलन अन्य जिल्लामा नभएको दाबी गरे।
‘अरु कुनैपनि कारागारमा यस प्रकारको कार्यक्रम गरिएको मलाई जानकारी छैन, हामिले बालसुधार गृहका बालकहरुसँग हरेक महिना सँगै खाना खाएर उनीहरूका भावनालाई बुझ्ने प्रयास गर्दै आएका छौं, कारागारमा धेरै कैदीबन्दी रहेकोले हरेक महिना त्यसरी संगै खाना खान सम्भव नभएपनि राष्ट्रिय पर्वहरु र राष्ट्रिय सन्दर्भ पारेर भेट गर्ने र सँगै खाना खाने प्रयास गरिरहेका छौं, यसलाई आगामी दिनमा पनि निरन्तरता दिईने छ,’ उनले भने।
कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले मानव अधिकारका दृष्टिकोणले सबै मानव एकै हुने भएकोले कारागारमा रहेका बन्दीहरुले पनि रमाउन पाउनुपर्छ भनेर यसप्रकारको कार्यक्रम आयोजना गरिएको बताए।
कारागारमा निसास्सिएर बसेका कैदीबन्दीहरु प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा प्रमुखहरु भोज सहित नयाँवर्षको शुभकामना साट्न कारागारमा पुग्दा निकै खुसी देखिन्थे।
उनिहरुले नयाँवर्षलाई उत्सव बनाईदिएको भन्दै जिल्ला प्रशासन कार्यालयलाई धन्यवाद दिए।
कैदीबन्दी एजाज अलीले तिहारमा कारागारभित्रै देउसीभैलो आयोजना गरेपछि फेरी यस्तै कार्यक्रम लिएर आउने बाचा गरेका प्रमुख जिल्ला अधिकारीले आफ्नो वाचा पुरा गरेको भन्दै धन्यवाद दिए।
कारागारका जेष्ठ कैदीबन्दी विश्राम लोधको अध्यक्षता तथा पत्रकार सुरेश परियारको संचालनमा सम्पन्न भएको कार्यक्रममा रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठोर, जिल्ला कारागार प्रमुख जगतबहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कैदी बन्दीहरुले दिनभर कारागारभित्रै नाचगान समेत गरेका थिए ।
विक्रम सम्वत् १९९० सालमा स्थापना भएको जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरूको बसाइ भने सकसपूर्ण बनेको छ।
१५० जनाको क्षमता रहेको कारागारमा चारसय ७२ जना कैदीबन्दी सकसपूर्ण तरिकाले बस्न बाध्य छन्।
जिल्ला कारागार प्रमुख बस्नेतका अनुसार प्रमुख जिल्ला अधिकारी गणेश अर्याल रुपन्देही आएपछि हरेक विहान राष्ट्रगान, साँझमा मंगल धुन र नियमित रुपमा योग ध्यान तथा सकारात्मक ऊर्जा दिने खालका कार्यक्रम संचालन गरिएको जानकारी दिए।
यसअघि कैदी बन्दीसँगै देउसीभैलो खेलेर तिहारपर्वलाई रमाइलो बनाइदिएको जिल्ला प्रशासन कार्यालयले नयाँ वर्षको शुभकामनाआदान प्रदानको कार्यक्रम जुराइदिएका हो।