मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न अनुमति दिइएकोबारे छानबिन गर्न बनेको समितिले थप १० दिनको समय मागेको छ।
गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा बनेको छानबिन समितिले यसबारे अनुसन्धान गर्न थप १० दिनको समय मागेको हो। यस समितिमा कानुनतर्फका उपसचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य छन्।
गृहका सूचना अधिकारी एवं उपसचिव अधिकारीका अनुसार समितिले चैत १८ गतेदेखि काम थालेको थियो। यस समितिलाई १५ दिनको समय दिएको थियो।
‘काम छिटो सक्नुस् भन्ने खालको कुरा आएको छ। काम हुँदैछ,’ उनले भने, ‘समय पर्याप्त नभएको हुनाले हो। हामी एउटै काममा मात्रै लाग्ने नभएकाले पनि ढिला हुन गएको हो।’
समितिका सदस्यहरूले जिल्ला प्रशासन कार्यालय झापा पुगेर पनि यसबारे अध्ययन गरेको उनले बताए। यसका लागि वाणिज्य विभाग, भन्सार विभाग र प्रहरीबाट पनि केही कागजात आउन बाँकी रहेको उनले बताए।
जिल्ला प्रशासन कार्यालय, झापाबाट २०७५ असार २१ मा दुर्गाप्रसाद प्रसाईंको नाममा इजाजतपत्र नम्बर १०१३१ मा जारी भएको २२ बोर ए३५४७५२ नम्बरको हतियारको इजाजतपत्र तथा त्यसको नवीकरण गरेको देखिएको हो।
यसरी इजाजत प्राप्त भएको हतियारसहित दुर्गा प्रसाईं आफ्ना बडिगार्डहरूसहित गत चैत ५ गते सर्वोच्च अदालत पुगेका थिए।
उनका सुरक्षागार्ड भनिएका दीपक खड्का र राजकुमार धिमाललाई प्रहरीले उक्त हतियारसहित पक्राउ गरेको थियो। पछि चैत १३ गते सर्वोच्चको आदेशपछि उनीहरू छुटेका थिए।
यसरी हतियार बोकेर संवेदनशील ठाउँमा प्रवेश गरेको भन्ने विषयमा चौतर्फी प्रश्न उब्जिएको थियो।
जुनसुकै ठाउँमा लिएर जान अनुमति प्राप्त भएको उक्त हतियारबारे गृहले समिति गठन गरी छानबिन गर्न समिति बनाएको हो।
अहिले उक्त समितिले दुर्गा प्रसाईंले बोकेको हतियारबारे, हाल भएका कानुन र त्यसमा गर्नुपर्ने सुधार, नवीकरण गर्ने विषय लगायतमा छानबिन गरी प्रतिवेदन बुझाउने तयारी गरेको छ।