कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ले विश्वका आठ हजार मिटरभन्दा अग्ला शिखर आरोहणमा नयाँ कीर्तिमान बनाएका छन्।
नेपाली नयाँ वर्षकै दिन उनले आठ हजार मिटर अग्ला शिखरको ४४ पल्ट आरोहण गरेर एकै जनाले धेरै पटक अग्ला शिखर चढ्ने कीर्तिमान बनाएका हुन्।
शनिबार वैशाख १ गते बिहानै १२:१५ बजे उनले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा पुगेर यो कीर्तिमान बनाएका हुन्।
‘आठ हजार मिटरमाथिका जति हिमाल जतिपटक आरोहण हुन्छ, त्यति नै पटक गणना भएर यो कीर्तिमान बनेको हो,’ कीर्तिमानपछि संक्षिप्त प्रतिक्रिया दिँदै निम्सदाइले भने, ‘अब, आठ हजार मिटर अग्ला पर्वत आरोहणपिच्छे मेरो रेकर्ड थपिँदै जान्छ।’
निम्सदाइले आठ हजार मिटरभन्दा अग्ला १४ वटै शिखर पटक–पटक आरोहण गरिसकेका छन्।