दाङको घोराही उपमहानगरपालिका–३, भानपुरमा स्थापित 'सञ्जीवनी शिक्षण अस्पताल' ले उपचार सेवा सुरू गरेको छ।
यो अस्पताल नेपालगन्जमा 'सञ्जीवनी कलेज अफ मेडिकल साइन्स' चलाइरहेका खुमाप्रसाद अर्यालको एकल लगानीमा स्थापना भएको हो। अस्पताल सञ्चालक समितिका अध्यक्ष पनि उनी नै छन्।
हालसम्म करिब चार अर्ब रूपैयाँ लगानी भएको अस्पतालले जनाएको छ।
दाङ लगायत साविक राप्ती अञ्चलका पहाडी जिल्लामा ५० बेडभन्दा बढी क्षमताको अस्पताल नभएकाले घोराहीमा स्थापना गरेको अर्यालको भनाइ छ।
'शिक्षण अस्पताल सञ्चालन गर्नुअघि हामीले उपलब्ध स्वास्थ्य सेवाको अवस्था सर्भे गरेका थियौं,' अर्यालले भने, 'सर्भेको प्रतिवेदनका आधारमा स्वास्थ्य सेवा विस्तार गर्न शिक्षण अस्पताल खोलेका हौं।'
यो अस्पताल स्थापनाका लागि हिमालयन बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषले संयुक्त रूपमा ऋण लगानी गरेका छन्।
अर्याल नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर; गण्डकी मेडिकल कलेज, पोखरा र युनिभर्सल मेडिकल कलेज, भैरहवामा पनि साझेदार लगानीकर्ता हुन्।


सञ्जीवनी शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपक रोकाका अनुसार पाँच बिघा क्षेत्रफलमा २०७८ सालमै निर्माण कार्य सुरू गरिएको थियो।
'भौतिक संरचना निर्माण सुरू गर्नुअघि स्वास्थ्य मन्त्रालयबाट मनसाय पत्र (लेटर अफ इन्टेन्ट–एलओआई) लिइएको थियो,' उनले भने।
यो अस्पतालले हाल तीन सय शय्याबाट सेवा सुरू गरेको छ। आगामी तीन वर्षमा पाँच सय शय्या बनाउने योजना छ।
सेवाका लागि आवश्यक ९० प्रतिशत उपकरण जडान भएको तथा डाक्टर, नर्स, फार्मासिस्ट र कर्मचारी गरी ८० प्रतिशत नियुक्ति पूरा भएको रोकाको भनाइ छ।
'हामीलाई चार सयभन्दा बढी कर्मचारी चाहिन्छन्। हाल तीन सय बढी कर्मचारी नियुक्त गरिसकेका छौं। उपलब्ध भएसम्म स्थानीयवासीलाई प्राथमिकता दिएका छौं,' रोकाले भने, 'हालसम्म नियुक्त तीन सय जनाको तलबभत्तामा मासिक करिब तीन करोड रूपैयाँ खर्च हुनेछ।'
शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न राज्यबाट आवश्यक स्वीकृति लिने प्रक्रिया चलिरहेको पनि रोकाले बताए।
उनका अनुसार सञ्जीवनी शिक्षण अस्पतालले साबिक राप्ती अञ्चलका सबै पहाडी जिल्लाका बिरामीलाई उपचार सेवा दिनेछ।
'स्वास्थ्य सेवा सर्वसुलभ र सबैको पहुँचमा पुर्याउन घोराहीमा निजी लगानीमा पहिलो शिक्षण अस्पताल स्थापना गरिएको हो,' उनले भने।
दाङबाट बाँके वा रूपन्देहीतिर बिरामी रेफरको संख्या शून्यमा झार्ने लक्ष्य रहेको उनले बताए।
यो शिक्षण अस्पतालले २०८३ सालमा स्टाफ नर्स, एचए (हेल्थ असिस्टेन्ट), फार्मेसी र ल्याब लगायत कक्षा सुरू गर्ने योजना बनाएको छ। यी कक्षा चलाउन सिटिइभिटी (प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्) बाट सम्बन्धन प्राप्त गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।
चिकित्सा शिक्षा ऐन, २०७५ मा कम्तीमा तीन सय शय्याको अस्पताल तीन वर्ष चलेपछि मात्र एमबिबिएस र बिडिएस कक्षाका विद्यार्थी भर्ना लिन पाउने प्रावधान छ। यस्तो मेडिकलसँग कलेज कम्तीमा १५ बिघा जग्गा हुनुपर्छ।
आगामी तीन वर्षभित्र थप ११ बिघा जग्गा व्यवस्था गरेर भौतिक पूर्वाधार तयार गर्ने कार्यकारी निर्देशक रोकाको भनाइ छ।

'अहिले हामीले पाँच बिघा जगामा तीन तलाका नौ वटा भवनबाट सेवा सुरू गरेका छौं। आसपासमा ११ बिघा जग्गा व्यवस्था गरेर थप संरचना निर्माण गर्छौं,' उनले भने, 'हालका नौ वटा भवन एक तथा थपेर चार तलाको बनाउँछौं। चाँडै विशिष्टीकृत सेवा सुरू गर्छौं। त्यसपछि मेडिकल शिक्षा सुरू हुन्छ।'
उनका अनुसार नसा सम्बन्धी (न्युरोलोजी), मुटु सम्बन्धी (कार्डियोलोजी), मिर्गौला सम्बन्धी (नेफ्रोलोजी), पिसाब सम्बन्धी (युरोलोजी) र पेट सम्बन्धी (ग्यास्ट्रोलोजी) सेवा चाँडै सुरू हुनेछ।
रेडियोलोजी अन्तर्गत डिजिटल एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान, एमआरआई लगायत बी श्रेणीका ल्याब छन्। मिर्गौला सम्बन्धी रोगीका लागि डायलासिस र मुटु सम्बन्धी रोगीका लागि क्याथल्याब सेवा पनि उपलब्ध छ। आपतकालीन (इमर्जेन्सी) सेवामा ५० शय्या छन् जहाँ चौबीसै घण्टा सेवा उपलब्ध हुने रोकाले बताए।
उनका अनुसार अस्पतालमा आइसियू, एनआइसियू, पिआइसियू, एसआइसियू लगायत सेवाका ८० वटा बेड छन्। अस्पतालले विपन्न परिवारका बिरामीमध्ये १० प्रतिशतलाई राज्यको प्रावधान अनुसार छुट दिनेछ।
'अस्पताल परिसरमा हेलिकप्टर अवतरण हुने सुविधा पनि छ,' उनले भने।