चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले उपत्यकाबाहिर पहिलोपटक रोबोटिक सर्जरी सेवा सुरू गरेको छ।
गत सेप्टेम्बरदेखि यता यहाँ १४ वटा रोबोटिक सर्जरी भएको अस्पताल निर्देशक प्रा.डा.दयाराम लम्सालले जानकारी दिए।
रोबोटिक सर्जरी काठमाडौंमा बि एण्ड बि अस्पतालले गर्दै आएको छ।
रोबोटिक तथा युरो–सर्जन डा. प्रतीकमान सिंह गुरूङ, जीआई सर्जनहरू डा. विशाल आचार्य र डा. रोहित कुमार मिश्रको नेतृत्वमा यो सेवा नियमित रूपमा सञ्चालन भइरहेको अस्पतालले जनाएको छ। यहाँ प्रोस्टेट, मिर्गौला, मूत्र थैली खोल्ने, स्त्रीरोग लगायतको शल्यक्रिया भइरहेको डा.गुरूङले बताए।
रोबोटिक सर्जरी चिकित्सकको प्रत्यक्ष रूपमा हातले नभई कम्प्युटरद्वारा नियन्त्रण हुने रोबोटिक हातहरूको माध्यमबाट हुने अपरेसन हो।
यस सर्जरीमा चिकित्सकले कम्प्युटर प्रविधिको सहायताले अपरेसन टेबलमा भन्दा टाढा बसेर कम्प्युटर स्क्रिनमा उपकरणको गति र दिशा नियन्त्रण गरेर शल्यक्रिया सञ्चालन गर्छन्।
‘यो प्रणालीले अत्यन्त सानो प्वालबाट अपरेसन गर्ने भएकाले बिरामीमा कम रक्तस्राव, न्यून पीडा, छिटो निको हुने, संक्रमणको जोखिम कम हुने जस्ता फाइदा बिरामीले पाउँछन्,’ डा. गुरूङले भने, ‘थ्रीडी दृश्य र स्थिर रोबोटिक हातका कारण जटिल शल्यक्रिया पनि अझ सुरक्षित र सूक्ष्म रूपमा गर्न सकिन्छ। परम्परागत प्रविधिहरूको तुलनामा रोबोटिक प्रणाली प्रयोग गर्दा शल्यक्रियामा बिरामीको शारीरिक र मानसिक दुवै पक्षलाई ध्यानमा राखेर प्रभावकारी रूपमा संवेदनशील र जटिल उपचारहरू गर्न सकिन्छ।’
सुरूमा यो प्रविधि अमेरिकी सेनाले टाढाबाट अपरेसन गर्न सक्ने प्रविधिका रूपमा विकास गरेको थियो। यसको उद्देश्य युद्धको मैदानमा रहेका घाइते सैनिकको तत्काल उपचार गर्नु थियो।
सन् १९९० पछि यो प्रविधि अस्पतालहरूमा प्रयोग गर्न थालिएको हो। सन् २००० तिर दा भिन्ची सर्जिकल सिस्टम नामक पहिलो व्यावसायिक रोबोटिक प्रणाली अमेरिकी खाद्य तथा औषधि निकाय एफ.डि.ए. द्वारा स्वीकृत भएपछि यसको प्रयोग तीव्र रूपमा बढ्दै गएको गुरूङले बताए।
लामो समय अमेरिकामा रोबोटिक सर्जरीमा सक्रिय रहेका डा. गुरूङले यस प्रणालीले चिकित्सकलाई थ्रिडी दृश्य र उच्च प्रविधिका उपकरण प्रयोग गरेर अपरेसन गर्न सहज बनाएको बताए।
‘यसलाई अपनाउँदै विश्वका प्रमुख अस्पतालहरूमा यो प्रविधिको प्रयोग गर्दै लाखौं बिरामीको उपचार हुँदै आएको छ। दक्षिण एसियामा रोबोटिक सर्जरीको विकास पछिल्ला केही वर्षहरूमा उल्लेखनीय गतिमा अघि बढिरहेको छ। विशेषगरी भारत, श्रीलंका र पाकिस्तानमा यो प्रविधिको विस्तार गत दशकमा अत्यन्त तीव्र रूपमा भएको पाइन्छ,’ उनी भन्छन्, ‘विशेषगरी युरोलोजी, गाइनकोलोजी, कार्डियोथोरासिक र क्यान्सर सर्जरीमा यसको प्रयोग उल्लेखनीय रूपमा बढ्दो छ।’
भारतमा सन् २०१० पछि नै रोबोटिक सर्जरी प्रविधि तीव्र गतिमा फैलिन थालेको हो। भारतमा अहिले १५० भन्दा बढी अस्पतालहरूले अत्याधुनिक रोबोटिक सर्जिकल प्रणाली सञ्चालनमा ल्याइसकेका छन्। नेपालका चिकित्सकहरुलाई तालिम दिएर रोबोटिक सर्जरीमा दक्ष बनाउन आफू लागिपरेको गुरूङले बताए।
अस्पतालका निर्देशक डा.लम्सालले स्वास्थ्य सेवालाई प्रविधिमैत्री बनाउन करिब ३२ करोड रुपैयाँ लगानी गरेर रोबोटिक सर्जरी सुरू गरिएको जानकारी दिए। सुरूआती अवस्थामा यो सर्जरीका लागि ५० हजार देखि २ लाख रुपैयाँसम्म खर्च लाग्ने उनले बताए।
‘हाम्रो देशमा क्यान्सर, मुटु, मूत्र प्रणालीका रोग, स्त्री रोग र जटिल शल्यक्रियाहरू बढ्दो अवस्थामा छन्। यी रोगहरूको उपचारका लागि रोबोटिक प्रविधि अत्यन्त उपयोगी हुन सक्छ,’ उनी भन्छन्, ‘नेपालमा यो प्रविधि भित्रिएपछि बिरामीहरूले भारत वा अन्य देशमा जानुपर्ने बाध्यता घट्नेछ। यसले आन्तरिक स्वास्थ्य सेवा प्रणालीलाई बलियो बनाउन सकिने छ।’
अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाकाअनुसार यो प्रविधिलाई नियमित सञ्चालन गर्न प्राविधिक, वित्तीय, मानवीय तथा व्यवस्थागत चुनौतीहरू पनि छन्। यसका लागि सरकारी नीति, लगानी र दक्ष जनशक्तिको आवश्यकता हुने उनी बताउँछन्।
‘सरकारले आधुनिक प्रविधि भित्र्याउन अनुमति र प्रोत्साहन दिनुपर्छ। साथै सुरक्षा, गुणस्तर र प्रमाणिकरण सम्बन्धी मापदण्ड तय गर्नुपर्छ,’ देवकोटाले भने, ‘चिकित्सक, नर्स, अपरेटिङ थिएटरका प्राविधिकहरूलाई रोबोटिक उपकरण सञ्चालन र जटिल प्रक्रियामा दक्षता हासिल गर्न विशेष प्रशिक्षण चाहिन्छ।’
चितवन मेडिकल कलेजले उच्च प्रविधिको रोबोटिक सर्जरीको विषयमा शनिबार ‘कन्फ्रेन्स’ आयोजना गरेको छ।
‘सिएमसी-कन’ नाम दिइएको उक्त सम्मेलनमा भारत बाट बरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रियंका भाता, डा. बिरेन्द्र भगतलगायत नेपालका दुई सय जना जी.आई सर्जन, यूरो सर्जन, स्त्रीरोग विशेषज्ञ, अंको सर्जन, एनेस्थेसियोलोजिस्ट, जनरल सर्जन तथा रेजिडेन्टहरू र नर्सहरू सहभागी हुने देवकोटाले बताए। उक्त कार्यक्रममा लाइभ रोबोटिक सर्जरी पनि हुने उनले बताए।