बुटवलमा अवैध रूपमा सञ्चालन भइरहेका टुर्स एन्ड ट्राभलहरू कारबाहीमा परेका छन्।
पर्यटन डिभिजन कार्यालय रूपन्देहीले आइतबार अनुगमन गरी नवीकरण र दर्ता नगरी सञ्चालन गरिएका ८ वटा टुर्स एन्ड ट्राभललाई जरिवाना सहित बन्द गरिदिएको हो।
आइतबार पर्यटन डिभिजन कार्यालयसहित जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय बुटवल, नेपाल पत्रकार महासङ्घ रुपन्देही, टुर्स एन्ड ट्राभल एसोसिएसन लुम्बिनी प्रदेश, बुटवल उपमहानगरपालिका लगायत सरोकारवाला निकाय सहितको टोलीले टुर्स एन्ड ट्राभलहरूको अनुगमन गरेको थियो।
पर्यटन डिभिजन कार्यालय रूपन्देहीका प्रमुख नेत्रप्रसाद भुसालले पहिलो दिन टुर्स एन्ड ट्राभलहरू सञ्चालन गरिएका बुटवलका मुख्य स्थान राजमार्ग चौराहा र इट्टा भट्टीका १५ वटा ट्राभलमा अनुगमन गरिएको थियो।
सो क्रममा आठ वटा टुर्स एन्ड ट्राभल दर्ता नगरी सञ्चालन गरिएकोले जनही २० हजार रुपैयाँ जरिवाना सहित सेवा बन्द गरिदिएको हो। त्यस्तै अन्य केही ट्राभलहरूले एउटा स्थानमा कार्यालय सञ्चालन गर्ने भनी अनुमति लिएर तीन चार स्थानमा शाखा सञ्चालन गरेकोले उनीहरूलाई २० हजार रुपैयाँका दरले जरिवाना लिएर छोडिदिएको भुसालले बताए।
२० हजार रुपैयाँ सहित बन्द गरिनेहरूमा बुटवल वडा नं. १० राजमार्ग चौराहामा रहेका नमस्ते र दर्शन देव चुली टुर्स एन्ड ट्राभल, बुटवल ९ स्थित सुपा देउराली टुर्स एन्ड ट्राभल प्राली, स्वर्गद्वारी लालीगुराँस, नमस्ते सुपा देउराली र माता सुपा देउराली टुर्स एन्ड ट्राभल रहेका छन्। उनीहरूलाई जनही २० हजार जरिवाना सहित बन्द गरिएको छ।
यी सबै टुर्स एन्ड ट्राभलहरूलाई पहिलो पटकमा जनही २० हजार रुपैयाँ जरिवाना लिएर बन्द गरिएको छ। पहिलो पटकका लागि २० हजार रुपैयाँ जरिवाना लिएर नवीकरण तथा दर्ता नगर्दा सम्मको लागि सञ्चालन बन्द गरिएको भुसालले जानकारी दिए।
त्यस्तै टुर्स एन्ड ट्राभललाई तोकिएको मापदण्ड पूरा नगरेको भन्दै राना होलिडेज, नमस्ते सुपा देउराली यातायात प्राली, लुम्बिनी अर्घाखाँची टुर्स एन्ड ट्राभल लगायतलाई जनही २० हजार रुपैयाँ जरिवाना लिएर छोडिएको छ।
कार्यालयका प्रमुख भुसालका अनुसार व्यवसाय ऐन २०७६ लुम्बिनी प्रदेश अनुसार कुनै पनि व्यवसायीले पर्यटन डिभिजन कार्यालयको इजाजत नलिई व्यवसाय सञ्चालन गरेको छ भने पहिलो पटक २० हजार रुपैयाँ जरिवाना सहित व्यवसाय बन्द गराउने कानुनी प्रावधान छ।
यति हुँदाहुँदै पनि यसअघि दिइएका निर्देशन पालना नगरेको, अनुगमनमा जाँदा बोर्ड निकाली ताला बन्द गरेर भाग्ने, ट्राभल सञ्चालक आफू नभएको जस्ता गैर जिम्मेवार पूर्ण जबाफ दिने र यसअघि दिएका निर्देशन अटेर गरेकाहरूलाई जरिवाना सहित बन्द गरिदिएको उनले बताए।
अहिले बन्द गरिएकाहरूले आफ्नो व्यवसाय दर्ता र नवीकरण गरेपछि पुनः ताला खोलिदिने उनले बताए।
‘दर्ता गरेर सञ्चालन गरिएकाहरूले निर्बाध रूपमा व्यवसाय सञ्चालन गर्नुस् त्यसका लागि सरकारको सहयोग रहन्छ तर, कानुन विपरीत कसैले व्यवसाय सञ्चालन गरेको छ भने कुनै न कुनै दिन कानुनी कारबाहीको दायरामा आउनै पर्छ, हामी नियमित अनुगमन गरेर कानुनी कारबाहीको दायरामा ल्याउँछौँ,’ उनले भने।
पछिल्लो समय ट्राभल व्यवसायहरू दर्ता र नवीकरण नगरी सञ्चालन गरी यात्रुहरूको सुरक्षामा चासो नदिएको गुनासो बढेपछि अनुगमन गरिएको उनले बताए।
नेपाल भारत मैत्री बस सञ्चालन गर्ने भन्दै रूपन्देहीमा सञ्चालित अधिकांश टुर्स एन्ड ट्राभलहरू नवीकरण र दर्ता बिनै सञ्चालन भइरहेको विषयमा सेतोपाटीबाट समाचार सार्वजनिक भएपछि पर्यटन डिभिजन कार्यालयले टुर्स एन्ड ट्राभलहरूको अनुगमन गरेको हो।
पर्यटन डिभिजन कार्यालय रूपन्देहीका अनुसार रूपन्देहीमा रहेका २ सय हाराहारी टुर्स एन्ड ट्राभलमध्ये करिब १ सय वटा ट्राभल सञ्चालन अवधि सकिए पनि नवीकरण नगरी निर्वाध रूपमा सञ्चालन भइरहेका छन्।
कतिपय ट्राभलहरू दर्ता समेत गरिएका छैनन् भने कतिपयले एउटा कार्यालय दर्ता र नवीकरण गरे पनि सोही नाममा तीन चार ठाउँमा शाखा खोलेर यात्रुहरूको टिकट काट्ने गर्दै आएका छन्।
पर्यटन क्षेत्रसँग जोडिएका टुर्स एन्ड ट्राभलहरूले नवीकरण र दर्ता नगरी राज्यको राजस्व ठगी सँगै यात्रुहरूको सुरक्षामाथि नै गम्भीर खेलबाड गरिरहेका छन्। यसरी सञ्चालन भएका ट्राभलले यात्रुहरूलाई स्वदेश र विदेशका विभिन्न सहरका लागि टिकट काटेर पठाइरहेका छन्।
रूपन्देहीमा सञ्चालित यस्तो ट्राभलहरूले विशेषगरी नेपालबाट भारतका विभिन्न सहरहरूमा यात्रु लैजाने र ल्याउने गर्दै आएका छन्।
पर्यटन व्यवसाय अन्तर्गत पर्ने ट्राभल एजेन्सीहरूले कम्पनी ऐन अन्तर्गत कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गर्नुपर्छ।
कम्पनी दर्ता गरी पर्यटन डिभिजन कार्यालयले दिएको सिफारिसको आधारमा घरेलु उद्योग कार्यालयमा दर्ता भएपछि फेरि पर्यटन डिभिजन कार्यालयबाट अनुमति लिएर मात्र ट्राभल सञ्चालन गर्नुपर्ने प्रावधान छ।
तर, गैर कानुनी रूपमा सञ्चालित ट्राभल एजेन्सीहरूका कारण यात्रुहरूले सास्ती खेप्दै आएका छन्। भारतका विभिन्न सहर जाने यात्रुहरूलाई टिकट काटिदिएका कतिपय नेपाली टुर्स एन्ड ट्राभलहरूले यात्रुहरूलाई सीमा नाकाबाटै अलपत्र पार्ने गरेका छन्।
बुटवलमा सञ्चालन गरिएका ट्राभल एजेन्सीहरूले पर्यटक स्तरका बसबाट बुटवलदेखि सिधै दिल्ली पुर्याउने भन्दै प्रति यात्रु भारतीय १५ सय देखि १७ सय रुपैयाँसम्म रकम लिने गर्छन्।
यसरी रकम लिएर टिकट काटेका यात्रुहरूलाई बुटवलदेखि बेलहियासम्म नेपाली बसमा लैजाने र बेलहियादेखि भारतीय बसमा दिल्लीसम्म पुर्याउने गरिन्छ।
नेपाली बस मार्फत भारत जाने यात्रुहरूलाई खास समस्या नभए पनि भारतीय बसबाट लैजाने यात्रुहरूलाई भने बाटोमा सास्ती हुने गरेको छ। २०७१ र २०७५ सालमा नेपाल र भारतका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा शुभारम्भ गर्दै काठमाडौँ नयाँ दिल्ली र नेपाल भारत मैत्री बस सेवा सञ्चालन गरेका थिए।
त्यसयता कतिपय यातायात व्यवसायीले अनुमति लिएर आफ्नै लगानीमा नेपाल भारत बस सेवा सञ्चालन गर्दै आएका छन्।
नेपाल भारत सेवा सञ्चालन गर्ने अनुमति लिएका बसहरू नेपाली भूमिदेखि मुख्य राजमार्गबाटै भारतका विभिन्न सहरमा पुग्ने गरे पनि अधिकांश ट्राभलहरूले भने रूट इजाजत नलिएका बसमार्फत भारत पठाउने गरेका छन्।
रूट परमिट नलिएका बसहरू रूपन्देही र कपिलवस्तुका नाका हुँदै मुख्य राजमार्ग नभई नेपाल र भारतीय प्रहरीसँग लुकीछिपी भित्री सडकबाट दिल्ली पुग्ने गर्छन्। यसरी सञ्चालन गरिएका बसहरू यात्राको क्रममा नेपाल र भारतका प्रहरीको नियन्त्रणमा पर्दा यात्रुहरू अलपत्र पर्ने गरेका छन्।
साथै रूट इजाजत नलिएका बसमा यात्रा गराउँदा यात्राको क्रममा कुनै दुर्घटना वा भवितव्य परिहाले उपचार, बीमा वा क्षतिपूर्तिको लागि समस्या हुने गर्छ।
गत सोमबार भारतको बलरामपुरमा दुर्घटनामा परेको बसले पनि बेलहियादेखि दिल्लीसम्मको रूट इजाजत लिएको थिएन। उक्त बस दुर्घटनामा परेपछि ज्यान जोगाएर बुटवल आइपुगेका कतिपय घाइते यात्रुले टिकट काटिदिएका टुर्स एन्ड ट्राभलहरूले आफूहरूको उपचारमा बेवास्ता गरेको गुनासो गरेका थिए।
त्यसपछि ट्राफिक प्रहरीले बेलहियाबाट यात्रु उठाउने भारतीय नम्बरका बसहरूको चेकजाँच बढाएको थियो।
गत बुधबार साँझ रूट परमिट नलिई बेलहिया बाइपास रोडबाट नेपाली यात्रु लैजाँदै गरेका युपी ३२ एक्स एन ७४५३ र युपी ८३ बिटी १३३७ नं. का दुई वटा भारतीय बसलाई नियन्त्रणमा लिएपछि यात्रुहरू रातीसम्म बाटोमा अलपत्र परेका थिए।
बुटवलदेखि नेपाली बसमा लगिएका यात्रुहरूलाई बेहलियास्थित परासी सडक खण्डको बाइपासबाट बसमा चढाउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएपछि यात्रुहरू रातीसम्म बाटोमा अलपत्र परेका थिए।