उच्च अदालत पाटनले आरोपीलाई धरौटीमा छाड्ने जिल्लाको आदेश सदर गरेपछि जाहेरीवाला युवतीले विष सेवन गरेकी छन्।
युवतीले बिहीबार अदालतबाट निस्किएपछि विष सेवन गरेकी हुन्। अहिले पाटन अस्पतालको आइसियूमा उनको उपचार भइरहेको छ।
ती युवती आफूमाथि बलात्कार भएको व्यक्तिलाई धरौटीमा छाडेको भन्दै निवेदन लिएर २०८२ साउन ११ गते उच्च अदालत पाटन पुगेकी थिइन्।
जिल्ला अदालत काठमाडौंले आरोपीलाई पुर्पक्षका लागि धरौटीमा रिहा गरेपछि उनी उच्च अदालत पुगेको त्यहाँका सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।
'२०८२ साउन ११ गते युवती पक्षबाट सरकारी वकिल कार्यालयले मुद्दा लिएर आएको थियो। त्यही महिना २३ गते प्रतिवादी प्रमोद मैनाली पनि निवेदन लिएर आएका थिए,' हितानले भनिन्।
प्रतिवादी कोष तथा लेखा नियन्त्रक कार्यालयमा अधिकृत हुन् भने युवती पनि सरकारी कर्मचारी नै भएको उनी बताउँछिन्।
उनका अनुसार यसअघि उनीहरूको मुद्दामा पेसी हुँदा युवतीले इजलासमै विष सेवन गर्ने प्रयास गरेकी थिइन्। त्यही कारण बिहीबार युवतीमाथि अदालतका सुरक्षाकर्मीहरूले कडा निगरानी गरेका थिए।
न्यायाधीश ढालकुमार खड्का र अच्युत कुइँकेलको इजलासले युवतीको निवेदनमा जिल्लाकै आदेश सदर गरिदिएको सूचना अधिकरी हितानले जानकारी दिइन्। जिल्ला अदालतले आरोपीलाई ५ लाख रूपैयाँ धरौटीमा छाडेको थियो।
'उच्च अदालतले जिल्लाकै आदेशलाई सदर गरिदिएपछी परिसर बाहिर निस्किएर सरकारी वकिलको कार्यालय नजिकै विष सेवन गरेकी रहिछन्,' उनले भनिन्, 'आसपासका मानिसले देखेपछि सुरक्षा निकायका कर्मचारीले पाटन अस्पतालमा लगिदिएका हुन्।'
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार युवतीको पाटन अस्पतालको आइसियूमा उपचार भइरहेको छ।