बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव जारी छ।
महोत्सव स्वदेशी उत्पादनको प्रचारप्रसार र बिक्री वितरणको थलो मात्रै होइन इतिहासको सम्झाइदिने सजीव संग्रहालय जस्तै बनेको छ। प्रदर्शनी हल प्रवेश गर्नेबित्तिकै पहिलो स्टलमै राखिएको फोटो तथा ऐतिहासिक सामग्रीको प्रदर्शनले त्यहाँ पुग्ने जो कसैको ध्यान तानिरहेको छ।
प्रदर्शनीमा राखिएका पुराना सञ्चार उपकरण र विभिन्न तस्बिरहरूले पाको पुस्तालाई मात्रै होइन आधुनिक प्रविधि र उपकरणहरूको पछि दौडिरहेका युवा र जेन जी पुस्ताहरूलाई पनि आकर्षित गरिरहेका छन्।
प्रदर्शनी आयोजक रुपन्देही उद्योग संघको सहकार्यमा नेपाल पत्रकार महासंघ रुपन्देहीले आयोजना गरेको फोटो प्रदर्शनीले औद्योगिक प्रदर्शनीलाई व्यापारमा मात्र सीमित नगरी सांस्कृतिक र ऐतिहासिक चेतना जगाउने थलोको रूपमा स्थापित गरिदिएको छ।
अर्कोतर्फ फोटो प्रदर्शनीले पत्रकारिता, उद्योग, पर्यटन, वातावरण र संस्कृतिलाई एउटै थलोमा जोड्ने जमर्को गरेको छ।
फोटो प्रदर्शनीमा लिथो मेसिन, बाइनकुलर, बाँसको कलम, खड्गशमशेर र जुद्धशमशेरको पालाको इँटा, बिसौनी –तराजु), फोटो/भिडियो खिच्ने पुरानो क्यामेरा, फोटो धुलाउने मेसिन, आकाशवाणी (टेलिफोन), रेडियो, क्यासेट प्लेयर, प्रोजेक्टर, ग्रामो फोन, पहिले प्रयोग गरिने माइकको ढ्वाङ, फोटा छाप्ने पुरानो मेसिन, २०१५ सालको चुनावमा प्रयोग गरिएको माइक सहित पुराना तस्बिर र रुपन्देहीबाट प्रकाशित भएका पुराना पत्रपत्रिकाहरू समेत राखिएका छन्।
पत्रकारिता र सूचना प्रविधिको विकास क्रम बुझ्न चाहनेका लागि यो स्टल एउटा खुल्ला किताबजस्तै बनेको छ। अनलाइन र डिजिटल छापाखाना आउनुअघि पत्रिका र फोटो छाप्न कति कठिन थियो भन्ने कुरा लिथो र फोटो छाप्ने मेसिनले देखाउन खोजेका छन्।
एउटा मोबाइले विश्वभर एकै पटक भिडियोमा कुरा गर्न सकिने अहिलेको पुस्तालाई टेलिफोनको सहज पहुँच हुनुअघि सूचना कसरी आदानप्रदान हुन्थ्यो र त्यो कत्तिको कठिन थियो भन्ने कुरा आकाशवाणी र ग्रामोफोन देख्दा बुझ्न सकिन्छ।
पुरानो भिडियो क्यामेरा र प्रोजेक्टरहरूले कसरी दृश्यहरू खिच्थे भन्ने बुझाउन फोटो प्रदर्शनी सफल भएको छ। आफ्नो समयमा निकै लोकप्रिय बनेका क्यासेट प्लेयर र पुराना दुरबिनहरूले त्यहाँ पुग्ने पाको पुस्तालाई आफ्नो बाल्यकाल सम्झाएका छन्।
प्रदर्शनीमा राखिएको माइकको सानो ढ्वाङ २०१५ सालको आम निर्वाचनमा नेताहरूले जनतालाई आफ्नो चुनावी एजेन्डा सुनाउन प्रयोग गरेको दाबी आयोजकको छ। आधुनिक डिजिटल साउन्ड सिस्टममा अभ्यस्त युवा पुस्ताका लागि माइकको फलामको ढ्वाङ अचम्मको वस्तु बनेको छ।
त्यस्तै प्रदर्शनीको चासोको वस्तु राणाकालीन सभ्यताको झल्को दिने खड्गशमशेर र जुद्धसमशेरका इँटा पनि हुन्। तत्कालीन पाल्पा गौँडाका बडाहाकिम खड्गशमशेर र राणा प्रधानमन्त्री जुद्धशमशेरको शासनकालको निर्माण शैली र गुणस्तर बुझ्न यी इँटाहरूले सहयोग पुर्याएका छन्। यसका साथै, पुरानो नाप जाँचको साधन बिसौनी (तराजु) ले पनि नेपालको मौलिक व्यापारिक इतिहासको सम्झना गराउँछ।
फोटो प्रदर्शनीमा उद्योगधन्दा स्थापना हुँदै गरेको अवस्था, परम्परागत उद्योगदेखि आधुनिक उत्पादनसम्मको विकास क्रम, स्थानीय उद्यमशीलताको संघर्ष र सफलताका क्षण समेटिएका तस्बिरले औद्योगिक क्षेत्रको यथार्थ उजागर गरेको उनीहरूको भनाइ छ।
फोटा प्रदर्शनी अवलोकनमा पुगेका प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, सदस्य शान्त राम बिडारी, उप प्रशासकीय अधिकृत रामशरण बोहरासहितको टोलीले प्रदर्शनीले पत्रकारिताको जीवन्त झल्काएको बताए।
‘यस्ता प्रदर्शनीले नयाँ पिँडीलाई इतिहासको जीवन्त जानकारी दिन्छ, पुराना विषयहरू संरक्षण हुन्छन् र पत्रकारिताको महत्व समाजले बुझ्न सहज हुन्छ, सदस्य बिडारीले भने। रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले उद्योग र पत्रकारिताबिचको सम्बन्धलाई बलियो बनाउन र औद्योगिक विकासमा सञ्चारको योगदान कति महत्त्वपूर्ण छ भन्ने सन्देश दिनका लागि पत्रकार महासङ्घसँग समन्वय गरेर फोटो प्रदर्शनीलाई जोडेको बताए।
उद्यमीका समस्या, श्रमिकका कथा र उत्पादन प्रक्रियाका दृश्यले दर्शकलाई उद्योगभित्रको वास्तविक संसारसँग जोडेको उनको भनाइ छ।
प्रदर्शनीमा समेटिएका पर्यटनसम्बन्धी तस्बिरले लुम्बिनी, पहाड–तराईका प्राकृतिक गन्तव्य, सांस्कृतिक सम्पदा र ग्रामीण पर्यटनको सम्भावना उजागर गरेका छन्।
ती तस्बिरले पर्यटन प्रवर्द्धनमा मिडियाको भूमिकालाई बलियो बनाउँदै दृश्य सञ्चार कति प्रभावकारी हुन्छ भन्ने प्रमाणित गरेका छन्। धेरैले नाम मात्रै सुनेका स्थानलाई प्रत्यक्ष देख्न पाउँदा आन्तरिक पर्यटनप्रति चासो बढ्ने अपेक्षा गरिएको प्रदर्शनीको प्रचार प्रसार संयोजक किरण खरेल बताउँछन्।
प्रदर्शनीमा वातावरण संरक्षणसँग सम्बन्धित फोटो प्रदर्शनीको अर्को सशक्त पक्ष बनेको र नदी, वन, वन्यजन्तु, प्रदूषण, जलवायु परिवर्तनका असर र संरक्षण अभियानका तस्बिरले विकास र वातावरणबिचको सन्तुलनबारे सोच्न बाध्य बनाएको अवलोकनकर्ता मित्रबहादुर शाक्यले बताए।
प्रदर्शनीमा राखिएको पानी सुकेर बगर बनेको तिनाउ नदिमा बालबालिकाहरू क्रिकेट खेलेको तस्बिरले तिनाउ नदिको भोलिको डरलाग्दो तस्बिर समेत देखाइदिएको छ।
यस्ता तस्बिरहरूको प्रदर्शनीले पत्रकारिताले तथ्य र दृश्यका माध्यमबाट वातावरणीय मुद्दालाई कसरी सार्वजनिक बहसमा ल्याउन सक्छन् भन्ने देखाएको अवलोकनका लागि पुगेका अध्यापक हुमराज भुसालले बताए।
प्रदर्शनीमा संस्कृति संरक्षणका तस्बिरले जातजातिका पहिचान, परम्परागत भेष भूषा, चाडपर्व, लोककला र सामाजिक जीवनशैलीलाई छर्लंग पारिदिएको छ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले नयाँ पुस्तालाई पुराना सञ्चार उपकरणबारे जानकारी गराउने र समयसँगै हराउँदै जान सक्ने सांस्कृतिक सम्पदालाई फोटोमार्फत सुरक्षित गर्ने काम पत्रकारिताले गरिरहेको सन्देश प्रदर्शनीमा राखिएको र यसले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानप्रति सचेत गराउने विश्वास व्यक्त गरे।
नेपाल पत्रकार महासंघको फोटो प्रदर्शनीको सबैभन्दा ठुलो फाइदा भनेको पत्रकारिताको इतिहासलाई जनतासँग प्रत्यक्ष भेट गराउनु भएको उनको भनाइ छ।
‘आम मानिस मात्र होइन अहिले पत्रकारितामा रहेका नयाँ पत्रकारहरूलाई पनि यहाँ राखिएका अधिकांश उपकरणबारे जानकारी नहुन सक्छ, पत्रकारिताले अहिलेको डिजिटल युगमा आइपुग्न त्यसअघि कति युग पार गरेको रहेछ भन्ने पनि यहाँ आएपछि बुझ्न सकिन्छ, लिथो मेसिन, फोटो/भिडियो खिच्ने पुराना क्यामेरा, ग्रामोफोन, रेडियो त्यसैका प्रमाण हुन्,’ उनले भने।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईँले फोटो प्रदर्शनीमा राखिएका तस्बिर र उपकरणहरूले छापा, रेडियो, टेलिभिजन हुँदै डिजिटल युगसम्म आई पुग्दाको यात्रालाई स्पष्ट पारिदिएको र यसले पत्रकारप्रति जनविश्वास बढाउने, मिडियाको जिम्मेवारी बोध बलियो बनाउने र अभिलेख संरक्षणको महत्त्व बुझाउने काम गरेको बताए।
अत्याधुनिक प्रविधिको यो युगमा पुराना र ऐतिहासिक वस्तुहरूप्रति मानिसको कति ठुलो आशक्ति हुन्छ भन्ने कुरा यहाँ लाग्ने भीडले पुष्टि गर्दछ। बालबालिकादेखि पाका पुस्तासम्मका अवलोकनकर्ताहरू यहाँ पुगेर दशकौँ पुराना सामग्रीलाई अचम्म मान्दै नियालिरहेका भेटिन्छन्।
प्रदर्शनीमा पुग्ने विद्यार्थीहरूका लागि यो एउटा उत्कृष्ट शैक्षिक भ्रमण बनेको छ। पाठ्यपुस्तकमा पढेका ऐतिहासिक वस्तुहरूलाई प्रत्यक्ष देख्न र छुन पाउँदा उनीहरूमा बेग्लै उत्साह देखिन्छ।
प्रदर्शनीमा राखिएका पुराना सञ्चार उपकरण, पत्रपत्रिका र अभिलेख सामग्रीले नेपाली पत्रकारिताको विकास यात्रा मात्र देखाएको छैन, समाज परिवर्तनमा मिडियाको भूमिकालाई पनि जीवन्त रूपमा प्रस्तुत गरेको त्यहाँ पुग्ने अवलोकनकर्ताको प्रतिक्रिया छ।
भैरहवाबाट प्रदर्शनीमा पुगेका निर्मल चौधरी पहिले तस्बिरमा देखेका वस्तुहरू प्रत्यक्ष देख्न पाउँदा खुसी लागेको बताए।
‘पहिले तस्बिरमा देखेको हो यसरी प्रत्यक्ष देख्न पाइएको थिएन, प्रत्यक्ष रूपमा यस्ता सामग्री देख्दा प्रविधिको विकास कसरी भइरहेको छ भन्ने बुझ्न पाइयो,' उनले भने।
बुटवलका शेख इरसाद आफ्नो हजुरबुवा आमाको उमेर भन्दा पहिलेका वस्तुहरू देख्न पाउँदा धेरै खुसी लागेको बताए।
‘२०१५ सालको माइक मेरो हजुरबुवा भन्दा जेठो रहेछ, यहाँ भएका सबै वस्तुहरू पहिलो पटक देख्न पाइयो यस्ता वस्तु बेलाबेला प्रदर्शनमा राख्न सके हामी जस्ता नयाँ पुस्तालाई पुरानो कुरा पनि थाहा पाउन सजिलो हुन्छ,' उनले भने।
औद्योगिक प्रदर्शनीजस्तो भिडभाड हुने स्थानमा फोटो प्रदर्शनी राखिनुले हजारौं दर्शकसम्म पत्रकारिता र सामाजिक मुद्दाका सन्देश पुर्याएको छ। उद्योग, पर्यटन, वातावरण र संस्कृति संरक्षणलाई एउटै सूत्रमा बाँधेर प्रस्तुत गरिएको यस प्रदर्शनीले सञ्चार माध्यम केवल समाचार दिने साधन मात्र नभई समाजको ऐना र इतिहासको अभिलेख पनि हो भन्ने सन्देश दिएको छ।







