हाम्रो मुटुमा विद्युतीय प्रणाली पनि हुन्छ। रगतको सञ्चार गर्ने नशा र विद्युत प्रवाह हुने नशा अलग अलग हुन्छ। यही विद्युतीय गतिविधिलाई ग्राफिक प्रस्तुतीमा हेर्नुलाई इलेक्ट्रो कार्डियोग्राम (इसिजी) भनिन्छ। जुन एउटा कागजमा ग्राफिक्स जस्तो बनेर आउँछ, हामी त्यसलाई पढ्छौं।
इसिजी कहिले गर्ने?
प्राय: इसिजी छाती दुख्दा गरिन्छ। यसले धेरै खालका समस्या थाहा पाउन मद्दत पुर्याउँछ। जस्तो: हृदयघात हुँदा मुटुको कुन भागमा नशा बन्द भएको छ भनेर अनुमान लगाउन यसले मद्दत पुर्याउँछ। त्योसँगै हृदयघात हुँदा बिरामीको अवस्था के हुन्छ या शरीरको विद्युतीय गतिविधिमा गडबड आउँदा के हुन्छ भनेर समेत थाहा पाउन सकिन्छ। कहिलेकाहीँ बिरामी रिंगटा लागेर आउँदा मुटुमा 'ब्लक' भएको हुन सक्छ। त्यो चिज हामीले इसिजी मार्फत पत्ता लगाउन सक्छौं।
सामान्य रूपमा भन्ने हो भने यो सस्तो र पुरानो परीक्षणको विधि हो। जसलाई अहिलेसम्म आधुनिक प्रविधिले पनि विस्थापन गर्न सकेको छैन।यसबाट इसिजीको महत्व कति छ भनेर प्रष्ट हुन्छ। किनकि एउटा इसिजीले मुटुका विभिन्न खालका समस्या थाहा पाउन सजिलो हुन्छ। अर्को अर्थमा भन्ने हो भने इसिजी एउटा प्रारम्भिक परीक्षण पनि हो।
मुटुका विभिन्न परीक्षण हुन्छन्। विभिन्न परीक्षणले विभिन्न अवस्थाबारे जान्नलाई मद्दत पुर्याउँछ।
इसिजीले मुटुको विद्युतीय गतिविधि, मुटु बन्द भएको, हृदयघात भएको, धड्कनमा समस्या भएको, कार्डियाक अरेस्ट थाहा पाउन सहयोग पुग्छ।अर्थात् मुटुले काम गर्न छोडेको छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ।
मुटुको जुनसुकै उपचारमा पनि प्रारम्भिक चरणमा गर्ने इसिजी नै हो। धेरैजसो त इसिजीमा गडबड आउनसाथ अरू केही छ कि भनेर अनुमान लगाउन सकिन्छ। तर इसिजी सामान्य छ भन्दैमा अरू समस्या छैन भन्ने हुँदैन। लगभग ५/६ प्रतिशत व्यक्तिहरूमा हृदयघात हुँदा इसिजी सामान्य देखिएको हुन्छ। त्यही भएर इसिजी सामान्य भए पनि अरू उपचार गराउन पर्ने स्थिति हुन्छ। बिरामीको लक्षण अनुसार चिकित्सकले यस्तो निर्णय लिन्छन्।
इसिजी यो समयमा गर्नुपर्छ भन्ने कुनै प्रोटोगल छैन तर विशेष गरेर युवावस्थादेखि गरेको राम्रो मानिन्छ। तर कति समयको अन्तरमा गर्नुपर्छ भन्ने केही छैन।
मुटुको समस्या भएर उपचार गरेकाहरूको भने समय/समयमा इसिजी गरिन्छ। अरू समस्या केही छैन भने वर्षमा एक पटक या त्योभन्दा पछि गर्दा पनि धेरै फरक पर्दैन।
इसिजी सम्बन्धी पुस्तक किन जरूरी लाग्यो?
'द म्यानुअल अफ इसिजी' भन्ने पुस्तक मैले किन लेखेँ भन्ने प्रसंग पनि रोचक छ। मैले इन्टरनल मेडिसिनमा मास्टर्स गरिरहेको बेला इन्टर्न गर्ने मेडिकल अफिसरहरूले इसिजीबारे बुझ्नको लागि धेरै संघर्ष गरेको पाएँ। मलाई त्यो बेलामा यसबारे किताब लेख्ने सोच आएको हो। किनकि कुनै बेला मलाई पनि त्यस्तै भएको थियो। इसिजीको महत्व थाहा छ तर यसको राम्रोसँग व्याख्या गर्न जानिएको हुँदैन। एउटा इसिजीले बिरामीको उपचारको विधि नै परिवर्तन हुने भएकाले यसलाई जान्न धेरै जरूरी छ। त्यही भएर म यो लेखनमा लागेको हो।
मैले पुस्तकमा इसिजीलाई सहज तरिकाले व्याख्या गरेको छु। यसमा मुटुको आर्टिटेक्चर कस्तो छ, त्यसले कसरी काम गर्छ लगायतको जानकारी छ। अनि कुन रोगमा कस्तो खालको इसिजी देखिन्छ भन्ने समेत यसमा छ।
यो पुस्तक सुरूआती चरणका डाक्टरदेखि लिएर क्लिनिसियन अनि नर्सका साथै हेल्थ असिस्टेन्ट सिएमए सहित अरू जोसुकैले पनि हेर्न मिल्ने खालको छ।
इसिजीको सुविधा सानोभन्दा सानो स्वास्थ्य संस्थामा पनि राख्न सकिन्छ। तर हरेक स्वास्थ्य संस्थामा विज्ञ चिकित्सक पुग्छ भन्ने हुँदैन। त्यसैले यो पुस्तक स्वास्थ्यकर्मीका लागि सहयोगी हुन सक्छ।
यो कुनै कोर्षको किताब होइन। यो सहयोगी पुस्तक हो। किनकि यसमा कस्तो इसिजीमा कस्ता समस्या हुन्छन् भनेर लेखिएको छ।
मुटुको धड्कनमा गडबडी, हृदयघात, मुटुको बाहिर झिल्लीमा समस्या आउँदा कस्तो हुन्छ, यस्ता सबै विषयलाई मैले बुँदागत रूपमा पुस्तकमा समेटेको छु।
स्वस्थ मुटुका लागि के गर्ने?
इसिजीको कुरा गर्दैगर्दा मुटु स्वस्थ राख्ने विषय आउनु स्वाभाविक हो। मुटु मात्र होइन कि हरेक रोगका लागि स्वस्थकर खाना जरूरी छ। स्वस्थ रहन चिल्लो बोसोयुक्त धेरै फ्राइ गरेका खाना खान हुँदैन। लामो समयसम्म फ्रोजन गरेका खानालाई पनि प्राथमिकता दिन हुँदैन। जंक फुड सकेसम्म खानु हुँदैन।
खानामध्ये सबैभन्दा डरलाग्दो चिनी हो। त्यसैले धेरै चिनी भएको खाना नखाएकै राम्रो हो। यसले मुटुसँगै सुगर, मोटोपनाको समस्या गराउन सक्छ।अर्को कुरा नुन पनि हो। नुनको सेवन पनि कम गर्नुपर्छ। दिनभरिमा एउटा व्यक्त्तिलाई ५ ग्राम नुन मात्र जरूरी पर्छ भनिन्छ।
हामीले धेरै कार्बोहाइड्रेट खान्छौं। हामीलाई कार्बोहाइड्रेट पनि चाहिन्छ तर हाम्रो प्लेटमा कार्बोहाइड्रेट धेरै हुन्छ अनि तरकारी, दाल, साग थोरै हुन्छ। हामीले यसलाई उल्ट्याउन पर्छ।
अर्को धूमपान, मद्यपान र सुर्ती लगायत हो। कतिलाई रक्सी थोरै खान मिल्छ भन्ने छ। तर रक्सीले शरीरलाई कुनै फाइदा गर्दै भन्ने बुझ्न जरूरी छ।
चुरोटको सट्टा हुक्का र इसिग्रेट प्रयोग गर्नेहरू पनि बढिरहेका छन्। हुक्का, इसिग्रेट झन् धेरै हानिकारक छ। हामीले यसमा पनि ध्यान दिन जरूरी छ।
स्वस्थ रहनका लागि शरीरलाई चलायमान बनाउन जरूरी छ भनेर ध्यान दिन जरूरी छ। हप्तामा कम्तीमा ५ दिन आधा घण्टा व्यायाम गर्न जरूरी छ तर सकेसम्म हरेक दिन आधा घण्टा व्यायाम जरूरी छ।
कतिपय समस्या उमेर र वंशाणुगत कारणले पनि हुन्छ। यसलाई रोक्न सकिँदैन तर जोखिम कम गराउन सकिन्छ। यसको लगि स्वस्थ खानपिन र जीवनशैलीसँगै परीक्षण जरूरी छ।
(उपप्राध्यापक एवं मुटु रोग विशेषज्ञ डा. स्मृति शाक्य त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत छन्।)