अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्षसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
दोलखा, मेलुङ गाउँपालिका वडा-१ का वडाध्यक्ष सहित ३ जनाविरूद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
वडाध्यक्ष ईश्वर कोइराला, तत्कालीन सचिव विनय उप्रेती, कार्यालय सहायक दलबहादुर थापाविरूद्ध मुद्दा चलाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
प्रवक्ता न्यौपानेका अनुसार सरकारी कागजात सच्चाएको तथा सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोप छ।
आर्थिक वर्ष २०७३/७४, २०७४/७५, २०७५/७६ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा मृत्यु भइसकेका १४ जनाको लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता लिइरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए।
'१० जना लाभग्राहीको कागजातमा फरक व्यक्तिको औंठा छाप लगाएर रकम लिएको देखियो,' न्यौपानेले भने।