जिल्ला कारागार डोल्पाबाट सुरूङ खनेर भागेका आठ जना कैदीमध्ये ६ जना पक्राउ परिसकेका छन्। फरार भएको १० दिन बितिसक्दा पनि बाँकी दुई जना भने प्रहरीको नियन्त्रणमा आएका छैनन्।
उनीहरूको खोजी गरिरहेको प्रहरीले तस्बिर सार्वजनिक गर्दै सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ।
पक्राउ पर्न बाँकी दुवै जना चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति हुन्। उनीहरू रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी र वडा नम्बर ३ का ३२ वर्षीय आदेश भण्डारी हुन्।
डोल्पाका प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीका अनुसार उनीहरूको खोजीका लागि प्रहरीले प्राविधिक विश्लेषणसहित अनुसन्धान अघि बढाएको छ। तर, अहिलेसम्म उनीहरूबारे भरपर्दो सूचना प्राप्त हुन सकेको छैन।
त्यसैले जिल्ला प्रहरी कार्यालय डोल्पाले मंगलबार दुवै जनाको तस्बिर सार्वजनिक गर्दै उनीहरूलाई कतै देखेमा वा उनीहरूबारे कुनै सूचना पाएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक विनयकुमार सिंहले फरार भण्डारीद्वयबारे सूचना प्राप्त भए तत्काल प्रहरीलाई जानकारी दिन सर्वसाधारणसँग अनुरोध गरेका छन्।
कहिले पक्राउ परेका थिए भण्डारीद्वय?
भदौ ८ गते राति डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–२, कलाङका तीन घरमा चोरी भएको थियो। घरमा कोही नभएको मौका पारेर ताला फोडी नगद र सुनका गरगहना चोरी गरिएको थियो। पीडितले भदौ ९ गते स्थानीय प्रहरी चौकीमा खबर गरेका थिए। प्रहरी चौकी धोले घटनाबारे जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको थियो।
त्यसपछि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक पदम रावलको नेतृत्वमा खटिएको टोलीले भदौ १० गते भण्डारीद्वयलाई डोल्पोबुद्ध गाउँपालिका–१, धोबाट पक्राउ गरेको थियो।
चोरीका विभिन्न सामानसहित पक्राउ परेका उनीहरूलाई भदौ ११ गते अदालतमा उपस्थित गराइएको थियो। अदालतले घटनाको अनुसन्धान गर्न पहिलोपटक सात दिनको म्याद दिएको थियो।
प्रहरी निरीक्षक सिंहका अनुसार उनीहरूको साथबाट ७०० वटा यार्सागुम्बा, सुनको चन्द्रमा एक थान, चाँदीको बाला दुई थान, कुबेर लकेट एक थान, सिसे ढुंगा एक थान, दूरबिन एक थान, खुकुरी र चक्कु दुई थान, गुलेली एक थान, फलामका रड दुई थानलगायत २१ प्रकारका सामान बरामद भएका थिए। उनीहरूको साथबाट एक लाख ४८ हजार ६८५ रूपैयाँ नगदसमेत बरामद भएको थियो।
डिएसपी गिरीका अनुसार पक्राउ परेपछि बयान दिने क्रममा भण्डारीद्वयले आफूहरू रूकुम पश्चिमबाट डोल्पामा ज्याला मजदुरीको काम खोज्दै आएको बताएका थिए। तर, प्रहरीको आशंका भने उनीहरू यार्सागुम्बाको अवैध कारोबार तथा तस्करीका लागि डोल्पा आएको भन्ने छ।
रूकुम पश्चिम प्रहरीले पनि उनीहरू हुन सक्ने सम्भावित ठाउँमा निगरानी बढाएको छ। तर, उनीहरूको विगतको पृष्ठभूमिबारे विस्तृत विश्लेषण भइनसकेको जनाएको छ।
डोल्पा प्रहरी प्रशासनले चोरीमा संलग्न भण्डारीद्वय पुर्पक्षका लागि कारागार पुगेपछि उनीहरूकै योजनामा सुरूङ खनेर भाग्ने योजना बनेको हुन सक्ने आशंका गरेको छ। प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले यसबारे अनुसन्धान भइरहेको बताइन्।
प्रहरी निरीक्षक सिंहको नेतृत्वमा बनेको छानबिन टोलीले तीन दिनअघि प्रतिवेदन बुझाएको थियो। तर, आफूले प्रतिवेदनको आधा भाग मात्रै अध्ययन गर्न पाएको र चाडपर्वको व्यस्तताका कारण बाँकी अध्ययन गर्न नसकेको प्रमुख जिल्ला अधिकारी ढकालले बताइन्।
‘घर फोडेर चोरीमा संलग्न उनीहरू पुर्पक्षका लागि कारागार पुगेपछि उनीहरूकै योजना र उक्साहटमा आठै जनाले सल्लाह गरेर सुरूङ खनी भाग्ने काम गरे कि भन्ने अनुमान भइरहेको छ,’ ढकालले भनिन्, ‘तर, यसबारे पुनः पक्राउ परेका ६ जनामाथि थप अनुसन्धान भइरहेको छ।’
कात्तिक १४ गते राति एउटै हलमा बस्दै आएका आठ जना कैदीबन्दीले सुरूङ खनेर कारागारबाट भागेका थिए। घटनाको अनुसन्धान गरी प्रतिवेदन बुझाउन केन्द्रबाट डीआईजीको संयोजकत्वमा छुट्टै समिति पनि गठन गरिएको छ। उक्त समितिको प्रतिवेदन भने सार्वजनिक हुन बाँकी छ।
डिएसपी गिरीले बाँकी दुई जना पक्राउ परेपछि घटनाबारे थप विवरण सार्वजनिक गरिने बताए।
‘उनीहरू रूकुम पश्चिमबाट डोल्पा आउनुको मुख्य कारण यार्साको अवैध व्यापार वा चोरीतस्करी नै थियो भन्ने कुरा घरहरूमा भएको चोरीले देखाउँछ,’ उनले भने, ‘एउटै कोठामा बस्दै आएका आठ जना जेलबाट भागेपछि प्रहरीले उनीहरूको खोजीका लागि रातदिन नभनी काम गरिरहेको छ।’
हालसम्म पक्राउ परेका ६ जना को हुन्?
फरार भएका आठ जनामध्ये पछिल्लो पटक आइतबार प्रहरीले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का २८ वर्षीय हरिबहादुर बुढा र जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विकलाई पक्राउ गरेको थियो। उनीहरू त्रिपुरासुन्दरी नगरपालिका–४, रङगाउँभन्दा माथिको जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका थिए। दुवै जना जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए।
प्रहरीका अनुसार विकलाई १२ वर्ष कैद सजाय तोकिएको थियो। उनले अब १० वर्ष आठ महिना कैद भुक्तान गर्न बाँकी थियो। बुढालाई पनि जबर्जस्ती करणी कसुरमा १२ वर्ष कैद सजाय तोकिएको थियो। उनले नौ वर्ष पाँच महिना कैद भुक्तान गर्न बाँकी थियो।
त्यसअघि चार जना पक्राउ परिसकेका थिए।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भनिने कपिल परियार कात्तिक १८ गते पक्राउ परेका थिए। उनीहरू डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४, रङगाउँमा कमला बुढाको घरमा लुकीछिपी बसेको अवस्थामा बुधबार बिहान करिब ३ बजे पक्राउ परेका थिए।
रोकायलाई जबर्जस्ती करणीसम्बन्धी कसुरमा आठ वर्ष कैद सजाय तोकिएको थियो। परियार भने नकबजनी अर्थात् चोरीसम्बन्धी कसुरमा तीन वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए।
त्यसअघि मंगलबार बिहान रूकुम पश्चिमबाट ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना पक्राउ परेका थिए। विक रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का हुन्। उनीहरू दुवै जना जबर्जस्ती करणी मुद्दामा जिल्ला कारागार डोल्पामा कैद भुक्तान गरिरहेका थिए।
भागेकाहरू फेरि पक्राउ परे के सजाय हुन्छ?
कारागारबाट भागेका कैदीमध्ये पक्राउ परेका ६ जनाविरूद्ध कारागार ऐन, २०७९ अनुसार मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।
उनीहरूविरूद्ध जिल्ला अदालतबाट पछिल्लो पटक आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी गिरीले बताए।
कारागार ऐन, २०७९ को दफा ४९ अनुसार कारागारबाट भाग्ने वा भाग्ने प्रयास गर्ने कैदी वा थुनुवा पुनः पक्राउ परेमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
त्यस्ता व्यक्तिले यसअघि पाएको सजायमध्ये भुक्तान गर्न बाँकी कैदसमेत पूरा गर्नुपर्छ। कारागारभित्र असल चालचलन वा अन्य नियमअनुसार पाउने छुट, माफी तथा कैद मिनाहाको सुविधाबाट पनि उनीहरू वञ्चित हुन सक्छन्। उनीहरूलाई कारागारभित्र थप कडा निगरानीमा राखिने व्यवस्था छ।