बैतडीमा जिप दुर्घटनाका घाइतेमध्ये थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
घाइतेमध्ये डडेल्धुराको सिगास गाउँपालिका–१ की २७ वर्षीया बसन्ती ऐरको उपचारका क्रममा जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले बताए।
घटनास्थलमै सिगास–१ का २५ निशान्त बोहरा र सोही वडाका २८ वर्षीय भानदेव भट्ट र आलिताल गाउँपालिका – ३ का १३ वर्षीय राकेश रावतको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख डिएसपी दीपककुमार राईले जानकारी दिएका थिए।
दुर्घटनाका दुई गम्भीर घाइते सिगास गाउँपालिका–१ की १९ वर्षीया बिमला ऐर, सोही वडाकी २५ वर्षीया लालमणि बोहरालाई डडेल्धुराको उपचारपछि थप उपचारका लागि कैलालीको धनगढी रिफर गरिएको प्रहरी निरीक्षक सिंहले बताए।
दुर्घटनाका घाइतेहरू सिगास–१ की ४ वर्षीया प्रन्सा ऐर, सिगास – १ दुधिलाखानका २८ वर्षीय चालक गणेश विष्ट, आलिताल गाउँपालिका – ३ का ३२ वर्षीय वीरेन्द्र बोहरा र बैतडीको पाटन नगरपालिका – ८ की २५ वर्षीया कमला विष्टको भने डडेल्धुरामै उपचार भइरहेको छ।
जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा मोतीनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी साढे दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
बिहान साढे १० बजेतिर भएको दुर्घटना भएको थियो। जीपमा दश जना सवार थिए।