जिल्ला प्रशासन कार्यालय (सिडिओ) काभ्रेपलाञ्चोकको निर्माणाधीन भवनमा एक जना पुरूषको शव जलेको अवस्थामा भेटिएको छ।
जिल्ला समन्वय समितिको पछाडितर्फ ठेकेदारको विवादका कारण रोकिएको निर्माणाधीन भवनमा सोमबार जलेको अवस्थामा एक जनाको शव भेटिएको हो।
उक्त शवको अहिलेसम्म पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रविन विष्टले जानकारी दिए।
'उक्त शव पोष्टमर्टमका लागि धुलिखेल अस्पताल पठाइदिएका छौं,' डिएसपी विष्टले भने।
उनका अनुसार उक्त भवनमा दुई बेवारिसे व्यक्तिहरू बस्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनीसँगै बस्ने अर्का पुरूष प्रहरीको सम्पर्कमा आइसकेको छैन। त्यसैले घटना कसरी भयो भनेर तत्काल भन्न सकिँदैन।
यस घटनाबारे थप अनुसन्धान भइरहेको उनले सेतोपाटीलाई जानकारी दिए।