काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी क्षमता अभिवृद्धि तथा आन्तरिक प्रशिक्षण कार्यक्रम सुरू गरेको छ।
बुधबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका एआईजी ईश्वर कार्कीले क्षमता अभिवृद्धि तालिमको उद्घाटन गरेका छन्। तालिम उद्घाटन गर्दै एआईजी कार्कीले साधन र स्रोतको अभावमा पनि ट्राफिक प्रहरी नियम पालना गराउन प्रतिबद्ध भएर लागिपरेको बताए।
‘जेनजी प्रदर्शनमा आगजनी र तोडफोड भएपछि साधन स्रोत बिहिन भएको ट्राफिक प्रहरी नियम पालना गराउन प्रतिबद्ध भएर सड्क खटिएको छ,’ उनले भने।
ट्राफिक प्रहरी अभावको बिचमा पनि सडकमा उपस्थित भएर नियम पालना गराउन कटिबद्ध भएर लागेको कार्कीले बताए।
क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न ट्राफिक प्रहरीलाई अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले पाँच वर्ष सम्म आर्थिक तथा प्राविधिक सहयोग गर्ने गर्ने भएको छ। ट्राफिक प्रहरीलाई तनाव रहित भएर कानुन पालनामा कठोर बनाउन नाइमासँगै सम्झौता गरिएको एआईजी कार्कीले बताए।
काठमाडौं उपत्यकामा प्रत्येक महिना करिब २ सय वटा मोटरसाइकल चोरी हुने गरेको छ। चोरी भएका मोटरसाइकल अनुसन्धानपछि फेला पारेर ट्राफिक प्रहरीले सम्बन्धीत धनिलाई हस्तान्तरण गरेको छ। एआईजी कार्कीले भेटिएका स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण गरेका हुन्।
यस्तै ट्राफिक प्रहरीले यातायात व्यवसायीसँग मिलेर सार्वजनिक सवारीसाधनमा क्यामेरा जडान गर्ने पनि अभियान सुरू गरेको छ।