मुगुमा भैलो खेल्न हिँडेको टोली सवार जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।
सोरू गाउँपालिका–६ गजेडीस्थित झ्यालेखोला नजिकै बुधबार जिप दुर्घटना भएको हो।
जिल्ला प्रहरी प्रमुख डिएसपी रविराज थपलियाका अनुसार दुर्घटनामा सोरू गाउँपालिका–९ कालैका १९ वर्षीय गणेश ऐडी गम्भीर घाइते भएका छन्। उनको टाउको र निधार लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ।
दुर्घटनामा सोरू गाउँपालिका–९ कालैकी १६ वर्षीया निर्मला ऐडी, १७ वर्षीया करिस्मा ऐडी, १९ वर्षीय अन्तिम योगी र खत्याड गाउँपालिका–७ का २९ वर्षीय चालक उपेन्द्र परियार पनि घाइते भएका छन्।
उद्धारमा खटिएका प्रहरी चौकी सोरूबर्माका प्रहरी नायब निरीक्षक देवबहादुर खड्काका अनुसार चालक परियार र निर्मला ऐडीको अवस्था मध्यम छ। करिस्मा र अन्तिमको अवस्था सामान्य छ।
घाइतेहरूलाई उपचारका लागि गमगढीस्थित जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोरूकोटबाट तारापानीतर्फ भैलो खेल्न जाने टोली बोकेको बा१८च ४१८ नम्बरको जिप ब्रेक नलागेपछि सडकको भित्तामा ठोक्किएको थियो।
'भैलो खेल्ने टोली एक ठाउँबाट अर्को ठाउँ जाँदै रहेछ,' प्रहरी नायब निरीक्षक खड्काले भने, 'ब्रेक नलागेपछि चालकले गाडी भित्तामा ठोक्काएर ठूलो दुर्घटना हुनबाट जोगाएको देखिन्छ। गाडी सडकबाट तल खसेको भए ठूलो क्षति हुन सक्थ्यो।'
जिपमा चालकसहित १२ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।