गएको डिसेम्बर २५, इसाई महान चाड क्रिसमसको एकाबिहानै म पूर्वोत्तर भारतीय राज्य मेघालयको राजधानी शिलोङ सहरको मध्य भाग पुग्दा तीन छक परेँ।
म निकै हर्षित भएँ, थोरै भावुक पनि भएँ।
यस कारण — नेपाल–भारत सीमा मेची नदीदेखि करिब ५ सय किलोमिटर पारि भारतको असम राज्यको गुवाहाटी वरपर प्रख्यात उपन्यासकार लिलबहादुर क्षेत्री जस्ता थुप्रै नेपालीभाषी भारतीय गोर्खा बस्छन् भन्ने ज्ञान मलाई थियो। तर गुवाहाटीदेखि अझै सय किलोमिटर दक्षिण–पूर्वमा पर्ने मेघालयको शिलोङ वरपर अझै पनि हजारौं हजार गोर्खाली बसोबास गर्छन् भन्ने ज्ञान मलाई थिएन।
झापा पारिको सिलगडी सहरबाट गुवाहाटी हुँदै शिलोङ जाने बसमा केही यात्री नेपालीभाषी थिए। कुहिरोले ढाकिएको गुवाहाटी छोडेर काठमाडौं जस्तै पारिलो घाम लागेको शिलोङको पहाड पुगेर ट्याक्सी रोक्दा रेडियो शिलोङ (आकाशवाणी) मा काम गर्ने थापा थरका भारतीय गोर्खाली भेटिए। सिलगडीमा छोरी–ज्वाइँ भेटेर आएका।
अझै रमाइलो त यस्तो भयो — बस स्ट्यान्डबाट केही मिनेट गुडेर शिलोङको बीचमा रहेको पुलिस बजार ओर्लिँदा यात्रु कुरिरहेका ट्याक्सी ड्राइभरको जत्था भेटियो, जसमा सबै नेपालीभाषी गोर्खाली रहेछन्।
म अचम्मित भएँ। किनभने मैले हिन्दी वा अंग्रेजी बोल्नै परेन। आफ्नै मातृभाषा नेपालीमै कुराकानी सुरू भइहाल्यो। मानौं — मैले नेपाल छोडेकै छैन, अझै नेपालकै कुनै सहर बजारमा पो छु जस्तो!
होटलबारे सोधीखोजी गर्दा हालै ३२ वर्ष उमेर टेकेका पंकज क्षेत्रीले सुनाइहाले, 'आज क्रिसमस भएकाले सबै होटल भरिएका छन्, धेरै टुरिस्ट आएका छन्।'
तैपनि कोसिस गर्छु भन्दै फोन गर्दै नेपाली भाषामा सोधीखोजी गर्न थाले।
शिलोङको क्रिसमस
शिलोङको पुलिस बजारमा क्रिसमसको अवसरमा धेरै पर्यटकको चहलपहल थियो। मेघालयमा धेरै इसाई बसोबास गर्छन्। तस्बिरः सुरेन्द्र फुयाल
एकैछिनमा पुलिस बजार छेउमै अलि महँगै भए पनि एक होटल भेटियो। पंकज क्षेत्रीले नै मेरो भारतीय सिमकार्ड रिचार्ज गर्न सहयोग गरिदिए। उनैले दिउँसो आफ्नै ट्याक्सीमा ३० किलोमिटर परको सुन्दर लाइटलुम क्षेत्र घुमाउने बन्दोबस्त मिलाए।
होटलका म्यानेजर पनि गोर्खाली नै रहेछन्। उदयपुरबाट बसाइँ सरेर आएका नेपालीका नाति। फेरि हिन्दी वा अंग्रेजी बोल्नै परेन। पुलिस बजार चोकमा क्रिसमसको चहलपहल बढ्दै थियो किनभने शिलोङ इसाई बहुल क्षेत्र हो।
तिब्बती–बर्मेली अनुहार भएका आदिवासी खसी, गारो वा जयन्तिया जातिका महिला तथा पुरूष सडकमा चिया, चाउमिन, मःमका साथै स्थानीय सरसामान बेच्न व्यस्त देखिए।
त्यही भिडमा गोर्खालीका थरीथरी अनुहार होलान् तर खुट्याउनै मुस्किल!
१५ वर्षअघिको भारतीय जनगणना अनुसार देशैभर झन्डै ३० लाख नेपालीभाषी गोर्खाली छन्। तीमध्ये केही पश्चिमका उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा छन् भने अधिकांश सिक्किम, पश्चिम बंगाल (दार्जिलिङ) र पूर्वोत्तर भारतका सात राज्य (सेभेन सिस्टर्स) मा छरिएका छन्।
सो गणना अनुसार मेघालय राज्यमा मात्रै करिब ५५ हजार गोर्खाली बसोबास गर्छन्। त्यो संख्या अहिले झनै बढिसकेको अनुमान छ।
गोर्खाली इतिहास
पंकज क्षेत्री त्यही गोर्खाली समुदायका हुन्।
'पहिले मेरो बाजे आउनुभएको रहेछ ब्रिटिस गोर्खामा भर्ती भएर सन् १९२० तिर,' शिलोङबाट लाइटलुमतर्फ घुमाउरो उकालोमा गाडी कुदाउँदै उनले आफ्नो परिवारको बसाइँको कथा सुरू गरे, 'बर्माको लडाइँमा खटिएपछि नेपाल नफर्किएर उहाँ यहाँ बस्न थाल्नुभएछ। मेरा बुबाआमा यतै जन्मिनुभयो। हामी पनि यतै जन्मियौं।'
'हामी गोर्खाली समुदाय एक ढिक्का छौं। त्यसैले मेघालयमा त्यसैले यहाँका आदिवासीहरूले हामीलाई हेप्न सक्दैनन्,' उनले थपे।
उनले त्यस्तो दाबी गरे पनि हालैको इतिहास अध्ययन गर्ने हो भने गोर्खाली समुदायको पीडाको न त पीडित गोर्खालीले बिर्सिन सकेका छन्, न अन्य मेघालयवासीले भुलिसकेका छन्!
यस कारण — कानुनी रूपमै आदिवासी समुदाय सबल भएर अग्राधिकार पाएको मेघालय राज्यमा अन्य राज्यका बाहिरिया वा यदाकदा विदेशीको दर्जा दिइने गोर्खालीहरु जातीय हिंसाको मारमा परिसकेका छन्। सन् १९८७ मा खसी विद्यार्थी संगठनको अगुवाइमा भएको विद्रोहका बेला शिलोङ र आसपासका क्षेत्रबाट गोर्खालीहरू सहित करिब १५ हजार बाहिरिया अन्य राज्यमा बसाइँ सर्न बाध्य भए।
त्यति बेला कतिपय त नेपालसम्मै पुगेछन् शरण खोज्दै।
सन् २०१० मा खसी समुदायले हिंसात्मक प्रदर्शन गरेपछि कम्तीमा १७ गोर्खालीको ज्यान गयो। त्यति बेला पनि सयौंको संख्यामा गोर्खालीहरू मेघालय छोड्न बाध्य भए। त्यो बेला पनि कोही कोही त नेपालसम्मै पुगेको बताइन्छ।
ती त तीता विगत भए। वर्तमानमा भने पंकज क्षेत्री जस्ता हजारौं गोर्खाली युवा शिलोङमै रमाइरहेका छन्। तर उनीहरूको पीडा उनीहरूको मनभित्रै छ।
शिलोङबाट उकालो चढिसकेर लाइटलुमका हरिया खर्क र पाटनतर्फ कार सोझ्याउँदै पंकज क्षेत्रीले भने, 'सन् १९८७ को खसी विद्रोहपछि यहाँ बाहिरियाहरूलाई जग्गाजमिन किन्न प्रतिबन्ध लगाइएको छ। त्यो अधिकार यहाँका खसी र अन्य आदिवासीहरूसँग मात्र छ।'
उनले थपे, 'जसले गर्दा हामी जस्ता नयाँ पुस्ताका गोर्खालीहरू घरजग्गा किन्न कि तल असम झर्नुपर्छ। कि अन्यत्र जानुपर्ने बाध्यता छ। त्यसैले हाम्रा दाजुभाइले सिलगडी (पश्चिम बंगाल) मा जग्गा किनेर घर बनाइसकेका छौं।'
सर्वाधिक पानी पर्ने चेरापुञ्जीको नयाँ चिन्ता
बर्खा याममा शिलोङ नजिकैका लाइटलुम र चेरापुञ्जी क्षेत्रका पहाडमा हरियालीसँगै अर्को आकर्षण थपिन्छ – सेता झरनाहरूका लश्कर। तस्बिर: सुरेन्द्र फुयाल
क्रिसमसको घमाइलो दिन शिलोङमाथिको लाइटलुम क्षेत्र भारतीय पर्यटकले भरिभराउ थियो। २ हजार मिटरको उचाइको लेकाली हावापानी नगरकोटको जस्तै चिसो।
मोटरका ताँती पार गरेर अघि बढेपछि बाँसका साना टहरामा लाइनै खोलिएका आदिवासी खसी समुदायका पसल देखापरे। जहाँ मःम, चाउमिनका अतिरिक्त फलफूल र आदिवासी परिकार किन्न र खान पर्यटकलाई भ्याइनभ्याइ थियो।
भारतमा अंग्रेज शासन चलेका बेला अंग्रेजले खुबै रूचाएको मेघालय प्राकृतिक र सांस्कृतिक सम्पदामा निकै धनी छ। विश्वमै सबभन्दा धेरै वर्षा हुने मसिनरम र चेरापुञ्जी रहेको मेघालयका लेक र बेसी हिउँदमा पनि हरिया देखिए। यहाँका हरिया खर्क हेरेर अंग्रेजले यसलाई पूर्वको स्कटल्यान्ड नाम दिएका थिए।
वर्षमा झन्डै १२०० मिलिमिटर वर्षा हुने यस क्षेत्रमा हिजो आज वायु प्रदूषणको चिन्ता छ। जलवायु परिवर्तनको असरका कारण औसतभन्दा कम वर्षा भएका खबर दोहोरिन थालेका छन्।
लाइटलुमको हरियो खर्कदेखि तल निकै अग्ला भिर देखिए, जसको मुनितिर पातला बस्ती भएका हरिया बेसी झुल्किए। बर्खा याममा लाइटलुम र चेरापुञ्जी क्षेत्रका पहाडमा हरियालीसँगै अर्को आकर्षण थपिन्छ — सेता झरनाका लश्कर।
मेघालयकै पहाड दक्षिणतर्फ बंगलादेशको उत्तरी सिमानासम्म तन्किएकाले बंगालको खाडीपारिको त्यो समथर देशले पनि आफ्नो भूभागमा गर्व गर्नलायक केही पहाड पाएको रहेछ।
क्रिसमसको साँझ पुलिस बजारको बीचमा उभ्याइएकी क्राइस्टकी आमा मेरी र कुनै परीको प्रतिमा वरिपरि झिलिमिली बत्ती चम्किए। त्यो हेर्न रमितेहरूको घुइँचो निरन्तर बढ्दै गर्दा ट्राफिक जाम बढ्यो। सँगसँगै ड्राइभरबीच हर्न बजाउने प्रतिस्पर्धा पनि।
पंकज क्षेत्रीले हामीलाई त्यहाँदेखि अलि माथि पूर्वतिर रहेको प्रसिद्ध ढावामा गएर डिनर खान सुझाव दिए। तर त्यहाँ पनि भोकाहरूको भिड थामिनसक्नु। केही बेर कुरेपछि एक गोर्खाली युवतीले मुस्कुराउँदै एउटा खाली टेबलमा पठाइदिइन्।
अंग्रेज शासनकै बेला बनाइएको भव्य भवनभित्र करिब सय वटा टेबलमा मानिसह्मरू पञ्जाबी र अन्य भारतीय परिकार खान व्यस्त थिए। दरबारमार्गको साम्स बिग–ट्रीको कौसीलाई बिर्साउने गरी!
वातावरण यस्तो थियो, अंग्रेजले छाडेर गए पनि उनीहरूले फैलाएको इसाई धर्म र पश्चिमा खानपान शैली शिलोङ सहरमा जीवितै छ। ठिक त्यसैगरी जसरी त्यो शैली कोलकाता, दिल्ली, बैंगलुरू, मुम्बई जस्ता सहरमा जीवित छ।
अर्को बिहान उदाएको घामका किरणले फेरि शिलोङका लेक र बेसी चम्काइदिए, नेपालकै डाँडापाखामा घाम झुल्किए जसरी। हुस्सुले तल असमका बेसी र समथरलाई छोपिराख्यो। शिलोङबाट करिब १ सय किलोमिटर पश्चिम–उत्तरतिर असमको गुवाहाटी सहरमा रहेको प्रसिद्ध कामाख्या मन्दिर पुर्याउन पंकज क्षेत्री नै अघि सरे।
चार लेनको घुमाउरो बाटोमा हुइँकिँदै सुस्तरी बेसी झर्दै गर्दा छेउमा कुलेखानी जस्तै बिजुली निकाल्न बनाइएको ठूलो ताल देखापर्यो। अलि पर पर्यटकहरू मोटरबाट झरेर तलतिर हुस्सुले ढाकेको गहिरो खोँच हेर्दै रमाइरहेका देखिए। अझै तल खसी तथा असमी परिकार पाइँने सफा रेस्टुरेन्टका ताँती भेटिए।
नेपालबाट ब्रह्मपुत्र छेउछाउ बसाइँ
पूर्वोत्तर भारतका सात राज्यमध्ये सबभन्दा धेरै गोर्खाली असममा बसोबास गर्दै आएका छन्। यहाँ १५ वर्षअघि करिब ७ लाख नेपालीभाषीको गणना भएको थियो। तस्बिर: सुरेन्द्र फुयाल
मेघालय र असम सीमा नजिकै पुगेपछि पंकज क्षेत्रीले सडकपारिका घरका लश्कर देखाउँदै भने, 'यो नेपाली(भाषी) बस्ने एरिया हो। यहाँ पूरै नेपाली छन्। धेरैजसोले गाईभैंसी पालेर दूध व्यापार गर्छन्।'
हुन पनि पूर्वोत्तर भारतका सात राज्यमध्ये सबभन्दा धेरै गोर्खाली असममा बसोबास गर्दै आएका छन्। १५ वर्षअघिको भारतीय जनगणना अनुसार असममा करिब ७ लाख नेपालीभाषी छन्। उनीहरूका बस्ती असमको तेजपुरदेखि गुवाहाटीसम्मै छरिएका छन्।
असमको तेजपुरबाट पटक पटक चुनाव जितेका पूर्वसांसद मणिकुमार (एम.के.) सुब्बा दोहोरो नागरिकता विवादका कारण भारतीय मिडियाका खबरमा छाइरहन्थे।
भारतको केन्द्रीय अनुसन्धान निकाय सिआइबीले अनुसन्धान गरिरहेको भनिएका ती अपुष्ट खबर अनुसार उनी नेपालको इलाममा कसैको हत्या गरेर दार्जिलिङ हुँदै पछि असमको तेजपुर पुगेका थिए। जहाँ उनले असम लोटरी भनिने चिट्ठा लगायत व्यवसायमा हात हालेर करोडौं पैसा कमाउन सफल भएका थिए।
यति धनी कि, सन् २०१६ ताका उनी सबभन्दा धनी उम्मेदवार भएका थिए।
बारम्बार चुनाव जितेपछि उनीविरूद्ध अर्को आरोप थियो — उनी पैसा बाँडेर चुनाव जित्छन्।
सन् २०१९ मेमा यस धर्तीबाट बिदा भएपछि मणिकुमार सुब्बाका विवाद पनि सेलाए।
ब्रह्मपुत्र नदी किनारमा बसेको गुवाहाटी सहरलाई पूर्वोत्तर भारतका सात वटा राज्यको केन्द्र मानिन्छ। हुन पनि गुवाहाटीका सडकमा हिँड्दा पश्चिम बंगाल र बिहारका मानिस मात्रै होइन पूर्वोत्तरका मेघालय, मणिपुर, मिजोरम, नागाल्यान्ड र त्रिपुराका थरीथरी अनुहार देख्न सकिन्छ।
लीलबहादुर क्षेत्रीको 'बसाइँ'
गुवाहाटी सहरको पल्टन बजार नजिकै एक चोकमा स्थानीय गोर्खालीले बनाएको नेपाली मन्दिर छ। भित्र राधाकृष्णको मूर्ति अगाडि भेटिने तिमिल्सिना थरका पण्डित भक्तहरूलाई टीका लगाइदिन व्यस्त रहन्छन्। तस्बिरः सुरेन्द्र फुयाल
तिब्बतको मानसरोवरबाट पूर्व बहँदै मोडिएर गुवाहाटी आइपुग्ने ब्रह्मपुत्रकै किनारमा एक बहुचर्चित नेपाली साहित्यकार हुर्के–बढेका थिए। महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'मुनामदन' पछि सर्वाधिक बिक्री भएको कृति 'बसाइँ' उपन्यासका सर्जक लीलबहादुर क्षेत्री गत चैतमा ९३ वर्षको उमेरमा यो संसारबाट बिदा भए।
बसाइँ उपन्यासमा पूर्वी नेपालको पहाडका जमिनदारी, थिचोमिचो अन्याय र प्रकृतिले समेत थोपरेका आपतविपदबाट एउटा परिवार प्रताडीत भएको बयान छ। त्यसै कारण बसाइँ सरी नेपाली सीमा काट्न बाध्य भएका धने (धनबहादुर बस्नेत), उनकी श्रीमती मैना र बहिनी झुमा, भारतीय सेनाका रिकुटे, दयावान मोटे कार्की जस्ता पात्रको चर्चा गरिएको छ।
मेघालयको शिलोङ र असमको गुवाहाटी र अन्यत्र पुगेका गोर्खाली भेट्दा मलाई कलेजमा पढेको त्यही उपन्यासको बसाइँ सर्न बाध्य पात्र सम्झना आइरह्यो।
तर हामीलाई शिलोङबाट कामाख्या मन्दिर नजिकै छोडेर विदा हुने पंकज क्षेत्री चाहिँ अलिक फरक रहेछन्।
'हेर्नुस् हामी गोर्खा सैनिकका सन्तान हौं। आफ्नो पुर्खाको त्याग र बलिदान प्रति गर्व लाग्छ,' कामाख्या देवीको मन्दिर रहेको डाँडाको उकालोमा गाडी साइड लगाउँदै उनले भने, 'त्यही भएर हामीलाई यतै रमाइलो लाग्छ। शिलोङमा काम गर्न सहज छ। जग्गा किन्नुपरे सिलगडी वा अरू ठाउँ छन्।'
कामाख्या देवीको गर्भगृहको दर्शन गर्ने हो भने झिसमिसेमै लाइन बस्नुपर्छ। सरसर्ती बाहिरबाट दर्शन गर्न धेरै झमेला हुँदैन। दर्शनार्थीको भिडमा भारतीय गोर्खाली भेटिनु अनौठो भएन। नेपालदेखि आएका तीर्थारू पनि भेटिन्छन्।
गुवाहाटी सहरको पल्टन बजार नजिकैको एक चोकमा स्थानीय गोर्खालीले बनाएको नेपाली मन्दिर छ। भित्र राधाकृष्णको मूर्तिअगाडि भेटिने तिमिल्सिना थरका पण्डित भक्तहरूलाई टीका लगाइदिन व्यस्त रहन्छन्।
नयाँ बसाइँ गन्तव्य — सिलगडी
सिलगडी बजारको बीचमा सडक छेउ आदिकवि भानुभक्त आचार्यको सुनौलो शालिक उभिएको छ। त्यसैले यस क्षेत्रका आदिवासी मात्रै होइन, बंगाली पनि नेपाली नै बोल्छन्। ठाउँ ठाउँमा थकाली भान्साघर खुलेका छन्। तस्बिरः सुरेन्द्र फुयाल
गुवाहाटीबाट सिलगडीको बागडोग्रा उडान चलिरहन्छ। रात्रि बस नचढ्ने हो भने तीव्र गतिमा चल्ने 'बन्दे भारत' नाम गरेको रेल उत्तम विकल्प बन्न सक्छ। त्यसको टिकट पाउन सके गुवाहाटीबाट सात घन्टामा सिलगडी नजिकैको न्यू जलपाइगुरी रेलवे स्टेसन आइपुगिन्छ।
सिलगडी सहरमा बंगाली, स्थानीय आदिवासी र अन्य भारतीयसँगै नेपालीभाषी प्रशस्तै भेटिन्छन्। भारतको नक्सालाई कुखुरा मान्ने हो भने सिलगडी त्यो कुखुराको घाँटी हो!
यो घाँटीको लम्बाइ उत्तर–दक्षिण करिब २ सय किलोमिटर र पूर्व–पश्चिम चौडाइ २० देखि २२ किलोमिटर जति छ।
रणनैतिक हिसाबले निकै महत्त्वपूर्ण यो घाँटीको पश्चिममा नेपाल छ भने उत्तरमा सिक्किमपारि तिब्बत र भुटान पर्छन्। पूर्व मोडिए पूर्वोत्तर भारतका सात राज्य छन् जुन सांस्कृतिक हिसाबले बाँकी भारतभन्दा निकै फरक देखिन्छ। दक्षिण–पूर्वमा बंगलादेश पर्छ।
भारतीय सेनाको हवाई अड्डा समेत रहेको सिलगडीमै हो ती सबै देश र क्षेत्रमा मानिस भेटिने पनि। त्यहीँ भेटिए दक्षिणी भारतीय राज्य केरलका एक आइटी कारिन्दा जोसेफ, जसले मलाई मोबाइलको डेटा सकिएपछि गाडी खोज्न निकै खुबै सहयोग गरे।
तर रमाइलो कुरा यहाँ नेपालीभाषीकै दबदबा छ।
सिलगडी बजारको बीचमा सडक छेउ नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको सुनौलो शालिक उभिएको छ। त्यसैले यस क्षेत्रका आदिवासी मात्रै होइन, बंगाली पनि नेपाली नै बोल्छन्। बजारका चिया पसले दार्जिलिङ पाराको नेपालीमा पोख्त छन्। किन नहोस्, कुल मिलाएर पूर्वी भारतीय राज्यहरूमा कम्तीमा २० लाख नेपालीभाषी रहेको पुरानो गणनाले देखाउँछ।
सिलगडी नेपालको झापा र मधेस जस्तै गर्मी हुने ठाउँ हो। त्यसैले त माथि पहाडका धनाढ्यहरू हिजोआज यही सहरमा एक थान घर, जग्गा वा फ्ल्याट किन्न व्यस्त छन्।
दार्जिलिङका देउमणि हुन् वा सिक्किमका कर्मा, वा कालिम्पोङका खाङसार्पा, वा दुवर्सका गोर्खाली वा उत्तर बंगालका बंगाली हुन् — सबै सिलगडी क्षेत्रमा एक थान घर किन्न वा बनाउन व्यस्त छन्।
सिलगडीबाट झन्डै ६ सय किलोमिटर पूर्वमा पर्ने शिलोङका पंकज क्षेत्रीको परिवार चुक्ने त कुरै भएन।
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal