राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्।
रविका स्वकीय सचिव अविनाश आचार्यका अनुसार माघ ५ गते जनकपुरमा सम्पन्न कार्यक्रममा उनको देब्रे खुट्टामा सामान्य चोट लागेको थियो। सो चोट बढेर छालाको भित्री तहमा संक्रमण भएको छ।
त्यसैले चिकित्सकको सल्लाहमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज (टिचिङ) मा उनलाई राखिएको हो।
'यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको छ। त्यसै अनुसार सभापतिज्यू हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुनुहुन्छ,' अविनाशले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्।
चोट गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावना भएकाले चिकित्सकको सुझाव अनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र रवि नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने पनि अविनाश जानकारी गराएका छन्।
'सभापतिज्यू सार्वजनिक रूपमा नदेखिनुभएको विषयमा चासो, चिन्ता तथा शुभेच्छा व्यक्त गर्नु हुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्छौं। साथै, अन्य बिरामीको उपचार प्रक्रियामा असर नपरोस् तथा अस्पताल प्रशासनलाई हुन सक्ने असहजता मध्यनजर गर्दै भेटघाटका लागि अस्पताल नआइदिनुहुन सम्पूर्णमा विनम्र अनुरोध गर्छौं,' उनले लेखेका छन्।