ओखलढुंगामा शृंखलाबद्ध रूपमा हत्याकाण्ड मच्चाएको आरोपमा गिरोहका चार जनालाई पक्राउ गरेको महिना दिन बितेको छैन।
‘गिरोह’ समाते पनि त्यस्तै प्रकृतिले चिशंखुगढी गाउँपालिका-६ का ८० वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको हत्या भयो।
यसरी महिना दिनमै अर्को दम्पतीको हत्या भएपछि घटना थप रहस्यमय बनेको छ। पहिलेको घटना र अहिले भएको राई दम्पतीको हत्या एकै प्रकृतिको भए पनि पहिलेकै गिरोह मध्येका सदस्यहरूले नै गरेको हो वा अर्कै टोलीले गरेको भन्ने यकिन छैन।
मंगलबार बिहान साढे ७ बजेतिर दुबै जनाको वीभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव स्थानीयले देखेपछि प्रहरीलाई बोलाइएको थियो। किराना पसल गरी बसेका वृद्ध दम्पतीको शव खाटमा फेला परेको थियो।
बुधबार प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको टोलीले स्निफिङको काम अघि बढाएको छ।
वडा नम्बर ६ का वडाध्यक्ष बलराम कटुवालले पछिल्लो समय भएका हत्याका घटना र यो घटना एकै प्रकृतिको देखिएको बताए।
‘यो घटना पछिल्ला दुई वटा घटनाभन्दा वीभत्स छ। हामीले हेर्दा त्यही प्रकृति, त्यही ढंगको देखिन्छ,’ उनले भने, ‘त्यसैले पहिलेको घटनामा समातिएका चार जना मात्रै गिरोहमा संलग्न मान्छे होइनन् या नाइके बाहिरै रहेको हुनसक्ने हाम्रो अनुमान छ। यो राज्यलाई नै ठाडो चुनौती दिने गरी घटनाहरू भइरहेका छन्।’
यसअघि सोही वडाको भदौरे गैरीगाउँका ६० वर्षीय शोभितमान थापा मगर र उनकी रत्नमाया थापा मगरको पुस १५ गते बिहान घरमै हत्या भएको थियो।
दुई जनाको हत्या भएपछि काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली खटिएको थियो। त्यस्तै, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओलखढुंगाको संयुक्त टोलीले अनुसन्धान गरेको थियो।
यसरी अनुसन्धान गरी प्रहरीले ओखलढुंगाकै चिसाङ गाउँपालिकाका २८ वर्षीय मिलन भन्ने संगम राई, ३० वर्षीय विनोद राई, प्रकाश भुजेल र ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेललाई पक्राउ गरेको थियो।
सिआइबीका अनुसार उनीहरूले थापा मगर दम्पतीको हत्या गरी अर्को पनि हत्याको योजना बनाएको खुलेको थियो।
त्यही समूहले असोज २६ गते सिद्धिचरण नगरपालिका-४ चार्खुमा एकल महिला ५२ वर्षीय रत्नकुमारी कटवालको हत्या गरेको खुलेको थियो।
यसरी थापा मगर दम्पती र कटवालको हत्या गरिएको दुबै घटनामा लुटपाट भएको थियो। त्यतिबेला थापा मगर दम्पतीको ८ तोला सुनको गहना, एक लाख नगद लुटिएको थियो।
त्यसैगरी कटवालकोबाट पनि नगद तथा सुनका गहना लुटिएका थिए।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बिक्रमबहादुर भट्टराईले यस घटनामा पनि लुटपाट भएको बताए।
‘हामीले मुचुल्काको काम गरिरहेका छौं। बाकसहरू फुटाइएका छन्। त्यसैले लुटपाट भएको हो भन्न सकिन्छ। के कति लुटपाट भएको हो यकिन भइसकेको छैन। अनुसन्धान गर्दैछौं,’ उनले भने, ‘तालिम प्राप्त कुकुरसहितले अनुसन्धान थालेको छ। पहिलेको जस्तै देखिए पनि एउटै समूह हो होइन भन्न सकिन्न।’
त्यस्तै, सिआइबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले पनि यस घटना र पहिले भएका घटना एकै प्रकृतिको देखिए पनि समूह एकै हो वा होइन अहिले नै भन्न नसकिने बताए।
‘पहिले समातेको एउटा ग्रुप दुई वटा ठाउँमा हत्या गरेको र अर्को एक ठाउँको योजना बनाउँदै गरेको अवस्थामा समातेको हो,’ उनले भने, ‘अनुसन्धान भएपछि मात्रै निष्कर्ष निकाल्न सकिन्छ। अहिले घटनास्थलको अनुसन्धान भइरहेको छ। अहिले नै भन्न सक्दैनौं। प्रकृति चाहिँ एउटै हो भन्ने छ।’
ओखलढुंगामा भइरहेको शृंखलाबद्ध हत्याको घटनामा सिआइबीले पनि अनुसन्धान गर्दैछ।
‘घटनास्थलमा आवश्यकता के कस्तो छ भन्ने पछि थाहा होला। हामीले एक तहको निगरानी राखेका छौं,’ उनले भने।