जाजरकोटमा एक १५ वर्षीय किशोरको मृत्युको घटनालाई लिएर प्रहरीले अनुसन्धानका लागि सँगै गएका तीन जना साथीहरूलाई नियन्त्रणमा लिएको छ।
जुनीचाँदे गाउँपालिका–४ का १५ वर्षीय खिमराज विष्टको माघ ९ गते मृत्यु भएको थियो। जुन दिन सरस्वती पूजा थियो। त्यो शुक्रबार खिमराज गाउँमै आफ्नो उमेर समूहका एकै विद्यालयमा र सँगसँगै कक्षा ९/१० मा अध्ययनरत तीन जना साथीहरूसँग मिलेर गाउँकै पाथीभारा मन्दिरमा दर्शन गर्न भनेर घरदेखि गएका थिए।
साथीहरूसँग मन्दिर दर्शन गर्न गएका खिमराज बेलुका घर फर्किएनन्।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुधिरकुमार खड्काका अनुसार खोजी गर्ने क्रममा खिमराजको शव माघ १० गते गाउँकै जंगलमा फेला परेको थियो।
खिमराजको मृत्युबारे माघ १० गते बेलुका ६ बजे मात्रै घर परिवारले प्रहरीलाई शव फेला परेकोबारे सूचना दिएका थिए।
सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गर्खाकोटबाट प्रहरी नायब निरीक्षक पूर्णबहादुर रानाको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो।
जिल्ला प्रहरी प्रमुख बसन्तकुमार शर्माका अनुसार मृतकको शरीरमा देखिने गरी कुनै पनि घाउखत फेला परेको थिएन। पोष्टमर्टम रिपोर्ट प्राप्त भइसकेको छैन।
तर, यो बीचमा मृतक खिमराज विष्टका बुवाले मन्दिर दर्शनका लागि सँगै गएका अन्य तीन जना उनका १४, १५ र १६ वर्षका साथीहरूले नै कर्तव्य गरी हत्या किटानी जाहेरी प्रहरीमा दिएका छन्। सोही किटानी जाहेरीका आधारमा प्रहरीले तीन किशोरलाई नियन्त्रणमा लिएर घटना अनुसन्धान अगाडि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटले मंगलबार तीन जना नाबालकलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति प्रदान गरेको जिल्ला प्रहरी प्रवक्ता खड्काले बताए।
हालसम्मको अनुसन्धानबाट सरस्वती पूजाका दिन गाउँकै मन्दिरमा गएका चार जना साथीहरू मिलेर मदिरा किनेर लगेर जंगल क्षेत्रमै खाएका थिए।
प्रहरी हिरासतमा रहेका एक जनाले मदिराले मातेपछि खिमराजले आफूहरूलाई लखटेको हुँदा आफूसहित अर्का एक जना दौडिएर भागेको बयान गरेका छन्। मृतक विष्टसँगै पछाडि छुटेका अर्का नाबालकले पिष्टको मृत्युको कारण पनि अनभिज्ञता प्रकट गर्दै आएका छन्।
प्रहरी स्रोतका मन्दिर पहाडको माथि टाकुरामा छ। उनीहरू उचाइमा पुगेको हुँदा अल्टिच्युड सिकनेस बढेको हुन सक्ने र मदिराले मातेकाहरू दौडिँदा बिरामी पर्दा अचेत भई मृत्यु भएको हुन सक्ने आशंका छ।
नियन्त्रणमा रहेकाहरूसँग सोधपुछ तथा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।