काठमाडौं महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ।
बुधबार महानगरले ह्युमपाइप राखिएको ठाउँमा बक्स कल्भर्ट निर्माण गर्ने निर्णय गरेको र त्यसको लागि सम्झौता समेत भइसकेको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईले जानकारी दिए।
उनका अनुसार यसअघि काठमाडौं प्लाजा नजिकैको सडक खण्ड भासिएको थियो। त्यसबेला टुकुचाका लागि पास हुन राखिएको ह्युमपाइप फुटेर उक्त स्थल भासिएको थाहा पाइएको थियो।
सोही घटना नदोहोरियोस् भनेर अहिले बागबजारबाट रत्नपार्क जाने बाटोको ह्युमपाइप निकालेर बक्स कल्भर्ट निर्माण गर्ने निर्णय गरिएको थियो। कल्भर्ट सडकतर्फ ५ मिटर र पानी बहाव हुनेतर्फ १४ मिटरको हुने महानगरले जनाएको छ।
जसको सम्झौता रकम ५७ लाख ७२ हजार ६९४ रूपैयाँ हो। यो योजना चैत मसान्तभित्र सम्पन्न हुने महानगरको भनाइ छ।
सार्वजनिक निर्माण विभागका सबइञ्जिनियर दिपकबहादुर शाहीले बर्खाको समयमा पानीका बहाव रोकिने हुँदा काम गर्न सहज हुने बताए।
‘अहिले त्यहाँ पानीको निकासका लागि राखिएका ह्युमपाइप पुराना भइसकेका छन्,’ उनले भने, ‘बर्खाको समयमा पानीका बहाव रोकिने अवस्था भएको छ। यसको सम्भावित डुबान र कटानको जोखिम घटाउन बक्स कल्भर्ट निर्माण गर्न लागिएको हो।’
कल्भर्ट निर्माण सुरू भएपछि सो क्षेत्रमा सडकको आवागमन दुई महिनाका लागि पूर्ण बन्द हुनेछ।
डिल्लीबजार पुतलीसडक चोक हुँदै बागबजारतर्फ जाने र रामशाह पथ हुँदै पुतलीसडक पुगेर बायाँ मोडिएर बागबजार जाने सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्थापन गर्न ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरिएको शाहीको भनाइ छ।
यसका लागि दुवै तर्फबाट आउने सवारी साधनहरू कमलादी मोडमा पुगेर बायाँ मोडिँदै कमलादी गणेश मन्दिर, घण्टाघरतर्फको सडक उपयुक्त वैकल्पिक मार्ग बन्न सक्ने महानगरले जनाएको छ।
यस्तै महानगरले यससँगै धोवीखोला नदी खण्डको दोभान नपुग्दै रोजबर्ड स्कुल नजिक पनि बक्स कल्भर्ट निर्माण हुँदैछ। यसको सम्झौता रकम २ करोड २१ लाख २३ हजार ८९९ रूपैयाँ हो।
यो काम २०८३ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण पक्षसँग सम्झौता भएको जनाइएको छ।