काठमाडौंको माइतीघर मण्डलमा ९ दिनदेखि आमरण अनसन बसिरहेका जेनजी अभियानी अजय सोडारीको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल लगिएको छ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि अजयलाई बुधबार दिउँसो वीर अस्पताल भर्ना गरिएको हो।
उनी ६ बुँदे माग राख्दै ९ दिनदेखि माइतीघर मण्डलामा आमरण अनसन बसिरहेको अर्का अभियानी प्रकाश शर्माले जानकारी दिए।
उनका अनुसार अहिले चेकजाँच भइरहेको छ।
'९ दिनदेखि आमरण अनसन बस्दा पनि सम्बन्धित निकायहरूले ध्यान नदिएपछि बिरामी नै हुनुभयो ,' उनले भने।
निवार्चन गतिविधि तत्काल रद्द गरी सर्वपक्षीय सरकार गठन गरी देशलाई दिगो निकास दिनुपर्ने, जेनजी बन्दी रिहाइ तथा हत्यारालाई कारबाही, भ्रष्टाचारीलाई छानबिन र कारबाही गर्नुपर्ने माग छ।
त्यस्तै, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, संविधान संशोधन, पुनर्लेखनको माध्यमबाट राज्यको पुनर्संरचना र विदेशबाट मताधिकार गर्न पाउनुपर्ने उनको माग छ।
उनी जेनजी अभियानी मिराज ढुंगाना 'गरिखान देऊ' समूहका हुन्।