बाराको परवानीपुरमा आमा-छोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
बुधबार बिहान २ बजेअघि परवानीपुर-१ रहरियाडीमा ५२ वर्षीया सुमित्रा देवी र उनका छोरा ३२ वर्षीया रामेश्वर मण्डलको हत्या भएको घटनामा धर्मेन्द्र महतो नाम गरेका एक पुरूषलाई पक्राउ गरिएको बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिए।
घटनामा उनको संलग्नता भेटिएकाले पक्राउ गरिएको एसपी कुँवरले बताए।
घटनामा उनको संलग्नताबारे अनुसन्धान थालिएको छ।
यसअघि प्रहरीले सुमित्राको बुहारी एवम् रामेश्वरकी श्रीमती २८ वर्षीया मनिता देवीलाई पक्राउ गरेको थियो।
गएराति एक व्यक्ति घरभित्र छिरेर अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेका थिए।
घटना हुँदा सुमित्राको घरमा ८ जना सदस्य थिए।
सुमित्रासँगै उनका श्रीमान जगरूक मण्डल, छोरी किरणदेवी, बुहारी मनितादेवी र उनका दुई छोरा, छोरी रिनाकुमारी र नाति गरी ८ जना थिए।
जगरूक,मनितादेवी र किरणदेवी घाइते भएका छन्। त्यसमा पनि जगरूक गम्भीर रहेको प्रहरीले जनाएको छ।
उनीहरूको परवानीपुरकै एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।
मनिता राति शौचालय निस्कँदा उनीसँगै सुमित्रा पनि निस्किएकी थिइन्।
सुमित्राको घरबाहिर नै हत्या भएको प्रहरीले जनाएको छ।
शौचालयको छेउमै उनको शव भेटिएको थियो। रामेश्वरको शव घरभित्र भेटिएको प्रहरीले जनाएको छ ।
घटनामा मनिता सामान्य मात्रै रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए। अन्य विषयमा अनुसन्धान भइरहेको उनले बताएका छन्।