काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेय सुनिता डंगोलले सहरी सरसफाइ र स्वच्छता कायम गराउने दायित्वमा गल्ती गर्ने छुट कसैलाई नभएको बताएकी छन्।
बुधबार महानगरको फोहर संकलन, वर्गीकरण र ढुवानी गर्ने निजी क्षेत्रका प्रतिनिधिहरूसँग सहरी सरसफाइको अभ्यास र दिगोपनाका लागि लिनुपर्ने नीतिगत र व्यावहारिक सुधारका पक्षमा छलफल गर्ने क्रममा उक्त कुरा बताएकी हुन्।
'तोकिएको समय र विधिबाट फोहर संकलन हुनुपर्छ। सडक बढार्नुपर्छ। सहरी सरसफाइमा फोहर उत्पादकदेखि व्यवस्थापकसम्म सबैको जिम्मेवारी छ,' उनले भनिन्, 'सबैले आफ्ना आफ्ना जिम्मेवारी इमानदार भएर पूरा गर्नुपर्छ। आफू जिम्मेवार नबन्ने, अरूलाई दोष देखाउने प्रवृत्ति निरूत्साहित गर्दै जानुपर्छ।'
यस्तै, उनले सहरका सडक, सडक किनारा, ढल प्रणाली, पार्क, गल्ली, चोक र मानिसका घरका ढोकाअघि कतै पनि फोहरका पोका थुप्रिएको अवस्थामा हुन नहुने बताइन्।
कार्यवाहक मेयर डंगोलले समस्या आउनुभन्दा अघि नै त्यो समस्या नआउने गरी काम गर्नुपर्नेमा जोड दिइन्।
'समस्या आएपछि यो के भएको भनेर हतार हतार छलफलमा जुट्ने परम्परा अन्त्य गरौं। सम्भावित समस्याको समाधानका लागि पहिले नै काम गरौं,' उनले भनिन्।
महानगरले घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न ७ क्षेत्रमा विभाजन गरेर आय ठेक्का लगाएको छ।
रिफ्युज, रिड्युस, रियुज, रिपेयर र रिसाइकल फोहरको दिगो व्यवस्थापनका विधि प्रवर्द्धन गरिरहेको जनाएको छ।