काठमाडौं महानगरपालिकाले सैनिक मञ्चबाट दक्षिणतर्फको चउर (टुँडिखेल) मा सर्वसाधारणको प्रयोग सहज बनाउन एक विशेष प्रजातिको घाँस रोप्ने भएको छ।
महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईले टुँडिखेलमा बरमुढा प्रजातिको दुबो रोप्न लागेको जानकारी दिए। खुल्लामञ्चमा प्रयोग गरिएको दुबो पनि यही प्रजातिको हो।
अहिले टुँडिखेलको चउर फोहोर भएको र धुलो उड्ने भएकाले धुबो रोपेर सौन्दर्यीकरण र व्यवस्थापन गर्न लागिएको उनले बताए।
'टुँडिखेलमा विभिन्न कार्यक्रम भइरहेको हुन्छ,' उनले भने, 'अर्कातर्फ विभिन्न खेलकुद गतिविधि पनि भइरहेका हुन्छन्। बिहान मर्निङ वाक हुन्छ भने साँझ साना भाइबहिनीहरू पनि धुलोमै खेलिरहनुभएको हुन्छ। सर्वसाधारणले उपयोग गर्ने यो ठाउँमा धुलो उड्ने, पानीमा हिलो हुने अवस्थामा सुधार ल्याएर प्रयोग सहजताका लागि ग्रास रोप्ने योजना कार्यान्वयन गर्न लागिएको हो।'
टुँडिखेल क्षेत्रफलका हिसाबले ठूलो भएको हुँदा विभिन्न चरणमा काम गर्ने योजना भएको उनले बताए। त्यसका लागि नेपाली सेनासँग समन्वय भइरहेको उनले जानकारी दिए।
अहिले यो कामका लागि २ करोड ७० लाख रूपैयाँमा सम्झौता भइसकेको छ। सम्झौताअनुसार २०८३ मंसिर मसान्तसम्म यो काम सकिने छ।
सार्वजनिक निर्माण विभागका वरिष्ठ इञ्जिनियर अर्जुन अर्यालका अनुसार यहाँ जमिनको सतह सम्याएर ३ इञ्च मलिलो माटो राखिनेछ र त्यसमाथि घाँस रोपिनेछ।
पानी रिचार्ज सिस्टमको लागि चउरमा ६ मिटर गहिराई पानी संकलन गर्ने पिट बनाइने उनले बताए।
यसबाट खुला ठाउँमा सर्वसाधारणको सहज पहुँच वृद्धि, सामाजिक अन्तरघुलन, वातावरणीय सुधार र सहरी सुन्दरतामा वृद्धि हुने उनको भनाइ छ।