काठमाडौं महानगरपालिकाले सैनिक मञ्चबाट दक्षिणतर्फको चउर (टुँडिखेल) लाई सर्वसाधारणको प्रयोग सहज बनाउन बरमुढा ग्रास रोप्ने भएको छ।
सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज बनाउन खुल्लामञ्चमा प्रयोग गरिएको बरमुढा प्रजातिको दुबो रोपिन लागेको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईले जानकारी दिए।
उनका अनुसार अहिले चउरमा फोहोर भएको र धुलो उड्ने भएकाले त्यहाँ धुबो रोपेर सौन्दर्यीकरण र व्यवस्थापन गर्न लागिएको हो।
'टुँडिखेलमा विभिन्न कार्यक्रमहरू भइरहेको हुन्छ,' उनले भने, 'अर्कातर्फ त्यहाँ विभिन्न खेलकुद गतिविधिहरू पनि भइरहेको हुन्छ। बिहान मर्निङ वाक हुन्छ भने साँझ साना भाइबहिनीहरू पनि धुलोमै खेलिरहनुभएको हुन्छ। सर्वसाधारणले उपयोग गर्ने यो ठाउँमा धुलो उड्ने, पानीमा हिलो हुने अवस्थामा सुधार ल्याएर प्रयोग सहजताका लागि ग्रास रोप्ने योजना कार्यान्वयन गर्न लागिएको हो।'
टुँडिखेल क्षेत्रफलको हिसाबले ठूलो भएको हुँदा त्यहाँ विभिन्न चरणमा काम गर्ने योजना भएको उनले बताए। त्यसका लागि नेपाली सेनासँग पनि समन्वयन भइरहेको उनले जानकारी दिए।
अहिले त्यसका लागि उक्त कार्यको लागि २ करोड ७० लाख रूपैयाँमा सम्झौता भइसकेको छ। सम्झौताअनुसार २०८३ मंसिर मसान्तसम्म यो काम सकिने छ।
सार्वजनिक निर्माण विभागका वरिष्ठ इञ्जिनियर अर्जुन अर्यालका अनुसार यहाँ जमिनको सतह सम्याएर ३ इञ्च मलिलो माटो राखिनेछ र त्यसमाथि घाँस रोपिनेछ।
पानी रिचार्ज सिस्टमको लागि चउरमा ६ मिटर गहिराई पानी संकलन गर्ने पिट बनाइने उनले बताए।
यसबाट खुला ठाउँमा सर्वसाधारणको सहज पहुँच वृद्धि, सामाजिक अन्तरघुलन, वातावरणीय सुधार र सहरी सुन्दरतामा वृद्धि हुने उनको भनाइ छ।