काठमाडौं उपत्यकामा रातको समयमाम लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गएराति अपरेसन चलाएर १० जनालाई पक्राउ गरेको हो। पक्राउ गर्ने क्रममा प्रहरीले यस समूहका प्रमुख व्यक्ति २३ वर्षीय विनय तामाङमाथि गोली समेत चलाएको थियो।
एसएसपी रमेश थापाका अनुसार विनय पछिल्लो तीन महिनायता काठमाडौं उपत्यकामा लुटपाट गर्दै आएका थिए।
उनी भदौ २४ गतेअघि प्रहरी वृत्त महाराजगन्जको हिरासतमा थिए। जेनजी आन्दोलनको क्रममा उनी त्यहाँबाट भागेका थिए।
विनयमाथि लुटपाट, डाँका चोरीकै आरोप थियो।
जेनजी आन्दोलनपछि फरार रहेका उनले फेरि पनि आपराधिक समूह बनाए। त्यस समूहमा पनि आपराधिक पृष्ठभूमि रहेकै व्यक्तिहरूसँग साँठगाँठ सुरू गरे।
२४ वर्षीय आयन माझीलाई उनले लुटपाटका लागि कमाण्डर बनाए।
त्यसैगरी २३ वर्षीय मनिस रसाइली, ३२ वर्षीय सविन माझी, २९ पेमा तामाङ, २० वर्षीय सलोन तामाङ, १८ वर्षीय राजिब भण्डारी, २२ वर्षीय विशाल तामाङ, २८ वर्षीय विदुर विश्वकर्मा र २९ वर्षीय फुर्वा तामाङ पनि यही समूहमा संलग्न भएका हुन्।
उनीहरू सबै जना चोरी र डाँका मुद्दामा पहिल्यै पक्राउ परिसकेका व्यक्तिहरू समेत रहेको एसएसपी थापाले बताए।
‘उनीहरू पहिले पनि यस्तै आपराधिक गतिविधिमा पक्राउ परिसकेका व्यक्तिहरू हुन्। बौद्ध, मूलपानी, स्वयम्भू लगायत क्षेत्रमा उनीहरू बस्थे,’ एसएसपी थापाले भने, ‘यसरी भदौ २४ गते विनय फरार भएपछि उनले सबैलाई संगठित बनाए।’
पछिल्ला तीन महिनायता काठमाडौंमा रातको समयमा बाटोमा हिँडिरहेका व्यक्तिहरूका सुनका औंठी, सिक्री, मुन्द्रा लगायत गहनाहरू लुटपाट गर्दै आएका थिए।
उनीहरू लुटपाट गर्नका लागि बेलुकी ९ बजेतिर चाबहिलमा भेला जम्मा हुने गरेका थिए।
एकै ठाउँमा खाना खाएर रातको १२ बजेका लागि कोको कहाँ खटिने भनेर तयारी गर्ने गरेको एसएसपी थापा बताउँछन्।
विशेषगरी एक पटकमा दुई वटा मोटरसाइकलमा ६ जना परिचालन हुन्थे। तीन-तीन जना गरी कुनै क्षेत्रमा गएर कुनै पनि व्यक्तिलाई भेट्टाएर सुनका गहना लुट्ने योजना बनाउने गरेका थिए।
‘राति १२ बजेदेखि बिहानको ४ बजेसम्म उनीहरू यस्तो काम गर्थे। यो समयमा मानिसको उपस्थिति पनि कम हुन्थ्यो। त्यसकारण कुनै व्यक्तिहरू भेटिहाले एकैछिनमा कुटपिट समेत गरेर लुटेर दुई वटा मोटरसाइकलमा भाग्थे,’ एसएसपी थापाले भने।
यसरी लुटपाट गर्दा कतिपयका कानको लोती नै चुँडिएको अवस्था समेत छ।
राति निरन्तर रूपमा लुटपाटका घटनाहरू हुन थालेको उजुरी प्रहरी कार्यालयमा आइरहेको थियो। जसकारण प्रहरीले अपरेसन नै चलाएको हो।
प्रहरीले अपरेसन चलाएर काठमाडौंको मूलपानी क्षेत्रमा गएराति एम्बुस चेकिङ राख्यो।
यसरी चेकिङ राख्दा विनयको टोली गएराति त्यही क्षेत्रमा आइपुगेको प्रहरीको भनाइ छ।
‘चेकिङ राखेको ठाउँमा एक्कासि प्रहरीलाई समेत हिर्काउने उद्देश्यले बाइक कुदाउँदै आएपछि प्रहरीसँग झडप समेत भएको थियो। यसक्रममा प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले गोली चलाएको हो,’ उनले भने।
गोली लागेर विनय घाइते छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
यस्तै उनको समूहमा रहेका अन्य ९ जनालाई पनि गएराति नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार २७ जना पीडितहरू अहिले प्रहरीको सम्पर्कमा आएका छन्। यो संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ।
एसएसपी थापाका अनुसार स्वयम्भूमा ७, महाराजगन्जमा ३, बौद्धमा ३, गौशालामा ३ र थिमी क्षेत्रमा १३ वटा लुटपाटका घटना भएका छन्।