नेपाल पत्रकार महासंघ रूपन्देहीले आफ्ना सदस्यहरूको मृत्यु भएको खण्डमा आश्रित परिवारलाई २५ हजार रुपैयाँ किरिया खर्च उपलब्ध गराउने भएको छ।
महासंघको बैठकबाट पत्रकार कल्याणकारी कोषमा रहेको रकमबाट उक्त क्रिया खर्च उपलब्ध गराउने निर्णय गरेको हो।
यसअघि स्थापना गरेको २५ लाख रुपैयाँको पत्रकार कल्याणकारी कोषमा ५ लाख रुपैयाँ थप गरी ३० लाख रुपैयाँ पुर्याइएको महासंघले जनाएको छ।
त्यस्तै, महासंघले फरक फरक दुई विधामा पुरस्कार समेत स्थापना गरेको छ।
महासंघका अध्यक्ष दिनेश पाण्डेले २५/२५ हजार रुपैयाँ राशिका खेलकुद पत्रकारिता पुरस्कार र फोटो पत्रकारिता पुरस्कार स्थापना गरिएको जानकारी दिए।
महासंघले गतवर्ष स्थापना दिवसका अवसरमा आयोजना गरेको फुटसल प्रतियोगिताबाट बचत भएको रकमबाट ५ लाख रुपैयाँको कोष जम्मा गरी त्यसैको ब्याजबाट हरेक वर्ष आफ्ना सदस्यमध्ये एक जना पत्रकारलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। उक्त पुरस्कार यसै वर्षदेखि प्रदान गरिने छ।
त्यसैगरी महासंघले गत पुस महिनामा बुटवल मण्डपमा सञ्चालन गरेको फोटो प्रदर्शनीबाट सङ्कलित रकमबाट ५ लाख रुपैयाँको कोष स्थापना गरी फोटो पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। महासंघका अनुसार उक्त कोषमा रूपन्देही उद्योग संघले २ लाख रुपैयाँ सहयोग गरेको छ।
अध्यक्ष पाण्डेका अनुसार यसै वर्ष स्थापना गरेको उक्त कोषको ब्याजबाट आगामी वर्षदेखि हरेक वर्ष लुम्बिनी प्रदेशभरिका पत्रकारहरूमध्ये एक जना पत्रकारलाई उनले खिचेर प्रकाशन गरेको उत्कृष्ट फोटोको आधारमा उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार प्रदान गरिने छ।
रूपन्देहीले लुम्बिनी प्रदेशका सबै जिल्लाहरूलाई भावनात्मक रूपमा जोड्ने उद्देश्यले प्रदेश स्तरीय फोटो पत्रकारिता पुरस्कार स्थापना गरेको महासंघका अध्यक्ष पाण्डेले बताए।
‘अग्रजहरूले रूपन्देहीलाई पत्रकारितामा मोफसलको राजधानी भन्ने कुरालाई स्थापित गर्नु भएको छ, हामी त्यसलाई भावनात्मक ढंगले जोड्ने गरी उक्त पुरस्कार स्थापना गरेका हौं,’ पाण्डेले भने।
फोटो पत्रकारिता पुरस्कारले फोटो पत्रकारितामा लागेकाहरूलाई प्रोत्साहन पनि अपेक्षा गरिएको छ।
विगतमा दुर्घटनामा परेका पत्रकारहरूलाई उपचारका लागि सहयोग गर्दै आएको पत्रकार महासंघले पछिल्लो कार्यसमिति निर्वाचित भएर आएपछि त्यसलाई निरन्तरता दिँदै गत वर्षदेखि सुत्केरी पोषण खर्च र शिशु बचत योजना समेत सञ्चालन गर्दै आएको छ।
महासंघ रूपन्देही शाखामा आबद्ध पत्रकार महिला सुत्केरी हुँदा ५ हजार रुपैयाँ पोषण खर्च र जन्मिएको शिशुका नाममा ५ हजार रुपैयाँको शिशु बचत खाता सञ्चालन गरेको छ।
त्यस्तै, बैठकले निर्वाचनका समयमा हुनसक्ने पत्रकार आचार संहिता उल्लंघन र पत्रकारको सुरक्षाका विषयमा अनुगमन गर्न अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा महासंघका सल्लाहकारहरू सदस्य रहेको अनुगमन समिति समेत गठन गरेको महासंघका सचिव सिपी खनालले बताए।