अछाममा एक महिलाले लगाएको गहना लुटेको आरोपमा एक जना पक्राउ परेका छन्।
महिलाले घाँटीमा लगाएको सिक्री लुटेको आरोपमा पर्साको मैनपुर गाउँपालिका ५ घर भएका ३१ वर्षीय उमेश राय पक्राउ परेका हुन्।
साँफे बगरमा भिडभाडको मौका छोपेर उनले सिक्री चोरेको आरोप छ। ती युवालाई पक्राउ गरेर अनुसन्धान गरिएको डिएसपी ओमप्रसाद खनालले जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह अछाम पुग्दा मानिसहरूको भिड लागेको थियो। भिड भएको मौकामा रायले स्थानीय एक महिलाको घाँटीको सिक्री लुटेको आरोप छ।
‘प्रहरीले रायलाई महिलाको सुनको सिक्री चोरी गर्दा गर्दै रंगेहात पक्राउ गरेको हो,’ डिएसपी खनालले भने, ‘रायले महिलाको घाँटीमा हातले सिक्री निकाल्दै गर्दा अरुले देखेपछि राय पक्राउ परेका हुन्।’
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक मीनबहादुर धामीका अनुसार प्रहरी हिरासतमा रहेका रायले आफू काठको काम गर्ने व्यक्ति रहेको बताएका छन्। काम खोज्दै आफू अछाम आएको उनको भनाइ छ।
यस्तै कैलालीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार माघ १४ गते दुई तोला सुन हराएको उजुरी आएको छ। भिड जम्मा भएका मौका छोपेर सुन लुट्ने घटना भइरहेका छन्।