सर्लाहीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
उखु लोड गरिएको ट्याक्टरको ट्रलीबाट खसेर एक जनाको मृत्यु भएको हो भने मोटरसाइकलको ठक्करबाट अर्का एक जना पैदल यात्रीको मृत्यु भएको छ।
उखु लोड गरिएको ट्याक्टरको ट्रलीबाट झरेर शुक्रबार रौतहट राजदेवी नगरपालिका ६ मोहनपुरका ३० वर्षीय राजु पटेलको मृत्यु भएको हो।
सर्लाही गोडैता न.पा.४ रहुवास्थित हुलाकी सडक खण्डमा म.प्र.०३–००१ त ७९०५ नं को उखु लोड गरिएको ट्याक्टर गडहियाबाट बगदहतर्फ लैजाँदै गरेको अवस्था थियो।
अचानक ब्रेक लगाउँदा राजु ट्रलीबाट खसेका थिए। उनलाई ट्याक्टरले थिचेको थियो। घाइते अवस्थामा तत्काल उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएकोमा चिकित्सकले चेकजाँचपछि मृत्यु भएको घोषणा गरेको इलाका प्रहरी कार्यालय गडहियाका प्रहरी निरीक्षक कैलाश चौधरीले जानकारी दिए।
यसैगरी बिहान सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं २ स्थित बिर्ताटोलस्थित भित्री सडक खण्डमा मोटरसाइकलले शुक्रबार बिहान पैदल यात्रीलाई ठक्कर दिएको थियो। बिर्ताबाट बर्कुरवातर्फ जाँदै गरेको भारतीय नं बिआर ३० एपी ३०३७ नम्बरको मोटरसाइकलले पैदलयात्री ६५ वर्षीया शान्तिदेवी ठाकुरलाई ठक्कर दिएको थियो।
टाउको, निधार र ढाडमा चोट लागेको उनलाई अमृत हेल्थ केयर बयलबासमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो। एलएस न्युरो अस्पतालमा उपचारको क्रममा अपराह्न उनको मृत्यु भएको वडा प्रहरी कार्यालय श्रीपुरले जानकारी दिएको छ।