अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिस सहरमा हजारौं मानिसहरूले सडकमा निस्किएर प्रदर्शन गरेका छन्।
मिनेसोटामा संघीय आप्रवासन अधिकारीहरूले गोली हानेर दुई अमेरिकी नागरिकको हत्या गरेपछि त्यसको विरोधमा प्रदर्शन हुँदै आएको छ।
शुक्रबार भने अन्य दिनको तुलनामा प्रदर्शनकारीहरूको संख्या ठूलो रहेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
शुक्रबार मिनियापोलिसका विद्यालयबाट कक्षा बहिस्कार गरेर विद्यार्थीहरू पनि प्रदर्शनमा सहभागी भएका थिए।
यसकारण शुक्रबारको पदर्शनमा हजारौं मानिसहरूको सहभागिता थियो।
उनीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा मिनेसोटा राज्यमा परिचालन भएका आप्रवासन अधिकारीहरूलाई फिर्ता गर्न माग गरेका छन्।
रोयटर्सका अनुसार राष्ट्रपति ट्रम्पले आप्रवासन अभियान अन्तर्गत मिनियापोलिसमा मात्रै त्यससँग सम्बन्धित ३ हजार भन्दा बढी सुरक्षाकर्मीहरू परिचालन गरेको थियो।
यो संख्या त्यहाँको प्रहरी बलभन्दा बढी हो।
आइसिईका सुरक्षाकर्मीहरू पूर्ण रूपमा सशस्त्र र रणनीतिक पोसाकमा सडक गस्ती गरिरहेका संघीय अधिकारीको उपस्थितिले स्थानीय बासिन्दामा त्रास फैलिएको छ।
चिसो तापक्रमको बाबजुद मिनियापोलिसको डाउनटाउन क्षेत्रमा भएको प्रदर्शनमा बालबालिका भएका परिवार, वृद्ध दम्पती र युवा अभियानीहरू सहभागी थिए ।
प्रदर्शनकारीहरूले आईसीईको कारबाहीलाई ‘नागरिकमाथिको दमन’ भन्दै विरोध गरेका छन्।
प्रदर्शनमा सहभागी कातिया कागानले आफ्ना अभिभावक रुसबाट अमेरिका आएर सुरक्षित र राम्रो जीवन खोजेको बताउँदै अहिले आफू त्यही ‘अमेरिकी सपनाको रक्षा’ गर्न सडकमा उत्रिएको बताइन्।
६५ वर्षीया ध्यान प्रशिक्षक किमले संघीय कारबाहीलाई “सरकारकै तर्फबाट गरिएको फासीवादी आक्रमण” भनेकी छन्।
यसैबीच, दुई अमेरिकी नागरिक एलेक्स प्रेट्टी र रेनी गुडको संघीय अधिकारीद्वारा गोली हानी हत्या गरिएको स्थान नजिकै करिब ५० शिक्षक र विद्यालय कर्मचारीले पनि मार्च निकाले।
चर्चित रक गायक ब्रुस स्प्रिङ्स्टिनले समेत प्रदर्शनलाई समर्थन जनाउँदै मिनियापोलिसमा आयोजित राहत कार्यक्रममा प्रस्तुति दिए ।
विरोध प्रदर्शन मिनेसोटामा मात्र सीमित रहेन।
आयोजकका अनुसार ४६ राज्यका २५० भन्दा बढी स्थानमा ‘काम छैन, कक्षा छैन, किनमेल छैन — आईसीईलाई पैसा नदेऊ’ भन्ने नारासहित प्रदर्शन गरिएको छ। न्यूयोर्क, लस एन्जलस, शिकागो र वाशिङ्टनजस्ता सहरहरूमा पनि ठूला प्रदर्शन भए।
यस घटनाले संघीय सरकारभित्र पनि असर पारेको छ।
मिनियापोलिसस्थित एफबीआई फिल्ड अफिसका कार्यवाहक प्रमुख जाराड स्मिथलाई पदबाट हटाएर वासिङ्टन सरुवा गरिएको छ। यही कार्यालयले गोलीकाण्ड र चर्चभित्र भएको प्रदर्शनसम्बन्धी अनुसन्धान गरिरहेको थियो।
उक्त चर्च प्रदर्शनका क्रममा संघीय कानुन उल्लंघन गरेको आरोपमा पूर्व सीएनएन एंकर डन लेमनलाई पक्राउ गरी मुद्दा दायर गरिएको छ। लेमनले दोष अस्वीकार गर्दै यसलाई “प्रेस स्वतन्त्रतामाथिको आक्रमण” भनेका छन् ।
न्युयोर्क टाइम्सले उद्धृत गरेको आन्तरिक आईसीई मेमोअनुसार संघीय अधिकारीलाई वारेन्टबिनै पक्राउ गर्न अझ व्यापक अधिकार दिइएको छ, जसले आप्रवासीविरुद्ध छापा झनै तीव्र बनाउने आशंका बढाएको छ ।
यसबीच, ट्रम्प प्रशासनको आप्रवासन नीतिप्रति जनसमर्थन घट्दै गएको देखिएको छ ।
रोयटर्स/इप्सोसको पछिल्लो सर्वेक्षणले ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासन नीतिप्रति समर्थन सबैभन्दा न्यून स्तरमा पुगेको देखाएको छ ।
मिनेसोटाका डेमोक्र्याटिक गभर्नर टिम वाल्जले संघीय बल फिर्ता नगरेसम्म नागरिकको सुरक्षा सुनिश्चित नहुने भन्दै कडा आपत्ति जनाएका छन्।
उता, कोलोराडो, एरिजोना, क्यालिफोर्निया र न्युयोर्कका थुप्रै विद्यालयमा शिक्षक र विद्यार्थीको व्यापक अनुपस्थितिका कारण कक्षा नै रद्द गरिएको छ । देशव्यापी आन्दोलनले अमेरिकी आप्रवासन नीतिमाथि थप राजनीतिक दबाब सिर्जना गरेको छ ।