इन्डोनेसियामा विवाह अघि नै यौन सम्बन्ध राखेको र मदिरा सेवन गरेको आरोपमा एक जोडीलाई २८० कोर्रा हानिएको छ।
आचे प्रान्तमा इस्लामिक धार्मिक कानुन (शरिया) उल्लंघन गरेको आरोपमा सजाय स्वरूप सार्वजनिक ठाउँमा राखेर युवकलाई १४० र युवतीलाई १४० कोर्रा हानिएको बिबिसीले जनाएको छ।
यो सजाय अहिलेसम्मकै कठोर सजाय रहेको भनेर अधिकारीहरूले बताएका छन्। मानव अधिकारवादीहरूले यसलाई क्रुर र अमानवीय घटना भनेका छन्।
कोर्रा प्रहारबाट २१ वर्षकी ती युवती बेहोस भएकी थिइन्। उनलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो।
यो घटना बिहीबारको हो।
इस्लामिक प्रहरी बलले शरिया कानुन उल्लंघन गरेको अभियोगमा दोषी ठहर गर्दै प्रहरीकै एक अधिकारीलाई पनि कोर्रा हानेको थियो।
धार्मिक रूपमा रूढीवादी आचे प्रान्तमा शरिया कानून उल्लङ्घन गरेबापत कोडा प्रहार गरिन्छ। तर मानवअधिकार समूहहरूले यसलाई अमानवीय र क्रूर भन्दै लामो समयदेखि आलोचना गर्दै आएका छन्।
आचेको इस्लामिक फौजदारी संहिताअनुसार विवाहबाहिर यौन सम्बन्ध राखे १०० पटक कोर्रा प्रहार गर्ने व्यवस्था छ भने मदिरा सेवन गरे ४० पटक कोर्रा हानिन्छ ।
इन्डोनेसियाली मानवअधिकार संस्था कोन्ट्रासका आचे संयोजक अजहरुल हुस्नाले कोर्रा प्रहारसम्बन्धी प्रक्रिया स्पष्ट र व्यवस्थित नभएको बताए ।
उनका अनुसार सजायपछि पीडितको स्वास्थ्य र मानसिक अवस्थाको हेरचाह सुनिश्चित गर्ने नियमहरू सुधार गर्न आवश्यक छ ।
यसैबीच, इस्लामिक प्रहरी बलका ती अधिकारीलाई एक निजी घरमा महिला साथीसँग नजिक रहेको अवस्थामा पक्राउ गरिएको थियो।
आचे इस्लामिक प्रहरी प्रमुख मुहम्मद रिजालका अनुसार उक्त अधिकारीलाई २३ पटक कोर्रा हानिएको थियो र उनलाई सेवाबाट बर्खास्त गरिने बताइएको छ। ती महिलामाथि पनि समान संख्यामा कोडा प्रहार गरिएको छ ।
मुस्लिम बहुल इन्डोनेसियामा शरिया कानून कार्यान्वयन गर्ने आचे एक मात्र प्रान्त हो, जहाँ यस्ता अपराधमा सार्वजनिक कोडा प्रहारको सजाय दिइन्छ।