दाङमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा लमही नगरपालिका–६ का २२ वर्षीय अंकित चौधरी छन्।
घाइते हुनेमा अंकितका ५३ वर्षीय बुबा झपेन्द्रबहादुर छन्। उनी उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ।
गम्भीर घाइते अंकितलाई नजिकैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो। उनको उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा ८ प ३६३१ नम्बरको स्कुटरलाई आइतबार दिउँसो करिब ३ बजे घोराही उपमहानगरपालिका–१५ भिंग्रेली होटल नजिकै सोही दिशातर्फ जाँदै गरेको अल्फाबेट नखुलेको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो।
ठक्कर दिने ट्रकबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।