सेफ सन्तोष साह, सुडी महिला कल्याण समाज र रोटरी न्यातपोलको सहकार्यमा काठमाडौंमा आयोजना गरिएको मिथिला चित्रकला तालिम सम्पन्न भएको छ।
मिथिला कलाप्रति रूचि राख्ने युवा, महिला तथा बालबालिकालाई लक्षित गरी आयोजित तालिमका सहभागीलाई आधारभूत चित्रकला सीप, डिजाइन र रङ संयोजनका बारेमा प्रशिक्षण गराइएको थियो।
कार्यक्रम सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले मिथिला चित्रकलासँग मिथिलाको इतिहास र संस्कृति जोडिएकाले यसको संरक्षण गर्न अत्यावश्यक रहेको बताइन्।
‘कलालाई आम्दानीको स्रोतसँग जोड्न सकेमा मात्र यसलाई पुस्तान्तरण गर्न पनि सहज हुन्छ। त्यसैले यसलाई आम्दानीसँग जोड्नका लागि पनि यस्तो तालिम आवश्यक हुन्छ। संस्कृतिलाई जगेर्ना गर्नका लागि चालेको यस कदमप्रति विशेष आभार व्यक्त गर्दछु,’ उनले भनिन्।
तालिममा सहभागी दिया पोखरेलले आफूलाई मिथिला पेन्टिङप्रति रूचि भएको उल्लेख गर्दै तीन दिनसम्म सञ्चालन भएको तालिमबाट धेरै ज्ञान सिकेको बताइन्।
सहभागी कलाकार रामेश्वर चौरसियाले आफूले जीवनमा पहिलोपटक मैले यसरी रङ र क्यानभासको अनुभव लिएको बताए।
परीक्षार्थीलाई प्रतिभा मिश्र, शारदा झा, सोनाम कर्ण, प्रिया पुर्वे, अदिती झालगायतका प्रशिक्षकले प्रशिक्षण दिएका थिए।
तालिममा ३० जनाभन्दा बढी सहभागी थिए।