रूपन्देहीमा स्कुल बस र ट्याक्टर एक आपसमा ठक्कर खाँदा २२ जना विद्यार्थी घाइते भएका छन्। तिलोत्तमा नगरपालिका मणिग्रामस्थित शान्ति नमुना माविको बस र धान बोकेको ट्याक्टर एक आपसमा ठक्कर खाँदा २२ जना विद्यार्थी घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार नवलपरासीबाट विद्यार्थी लिएर आउँदै गरेको शान्ति नमुना माविको लु १ ख ८६७५ नम्बरको बस र लु ३ त ३५३० नम्बरको ट्याक्टर ओमसतिया गाउँपालिका वडा नं. ४ वसन्तपुरमा ठक्कर खाँदा दुर्घटनामा परेका थिए।
उक्त दुर्घटनामा परि बसका २२ जना विद्यार्थी घाइते भएको प्रहरी नायव उपरीक्षक चन्दले बताए। घाइतेमध्ये २ जनाको टाउकोमा मध्यम चोट लागेको छ भने अन्य विद्यार्थी सामान्य घाइते भएका छन्।
घाइते मध्ये १३ जनाको भैरहवा मेडिकल कलेज र ४ जनाको भीम अस्पतालमा उपचार भइरहेको छ। ४ जना सामान्य उपचारपछि घर फर्किएका छन्।
बिहानी कक्षाका लागि विद्यालय आउँदै गरेका कक्षा ११ र १२ का विद्यार्थीहरू बोकेको उक्त बस बिहान साढे ६ बजेतिर दुर्घटनामा परेको हो। प्रहरी नायब उपरीक्षक चन्दले दुर्घटनामा संलग्न बस र ट्याक्टरका दुबै जना चालक नियन्त्रणमा रहेको बताए।