काठमाडौंको बौद्ध क्षेत्रमा सुनका गरगहना चोरी गर्ने एक जनालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ।
गएराति गोली चलाएर विकास भन्ने प्रेम थारूलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए।
उनलाई काठमाडौं महानगरपालिका-६ महांकालबाट पक्राउ गरिएको हो।
पक्राउको क्रममा प्रहरीसँग झडप भएपछि गोली चलाइएको एसएसपी थापाले जानकारी दिए।
थारूको खुट्टामा गोली लागेको छ।
थारूमाथि ६५ तोला सुनका गरगहना चोरी गरेको आरोप छ।
मंगलबार मात्रै काठमाडौंको बौद्धस्थित कुमारीगालमा रहेको एक घरबाट मध्याह्न १२ बजेतिर ४२ तोला सुनचाँदीका गहना चोरी भएको थियो। उक्त घटनामा थारूकै संलग्नता रहेको भनिएको छ।
पाँचतले घरका मानिसहरू छतमा बसिरहेको बेलामा चौथो तलामा चोरी भएको थियो।
चोरी भएको कोठाको ढोकाको कब्जा फुटाइएको अवस्थामा फेला परेको थियो।
पक्राउ परेका आरोपीबारे थप अनुसन्धान भइरहेको एसएसपी थापाले जानकारी दिए।