बैतडीमा बिहीबार बेलुकी जन्तीबस दुर्घटना भएको छ।
दुर्घटना परी ६ जनाको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख डिएसपी दिपककुमार रायले जानकारी दिए। त्यस्तै ४५ जना घाइते भएका छन्।
उनका अनुसार चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।
मृतक सबै पुरूष हुन्।
उनीहरूमध्ये चार जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ।
बझाङको बित्तडचिर गाउँपालिका – ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी र केदारस्यूँ गाउँपालिकका ६० वर्षीय मोहनदेव भट्टको सनाखत भएको डिएसपी रायले बताए।
'मृतक अरू दुई जना पुरूषको भने सनाखत भइसकेको छैन,' उनले भने।
४५ जना घाइतेको उद्धार गरी उपचारका लागि पुर्चौडी पाटेल स्वास्थ्य चौकीमा पुर्याइएको डिएसपी रायले बताए।
बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर घरतर्फ फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडबाट सु. प्र. ०२–००१ ख १११९ नम्बरको बस झन्डै एक सय मिटर तल खसेको हो।
बिहीबार बेलुका साढे ७ बजेतिर भएको दुर्घटनाको खबर पाउनासाथ पुर्चौडीका साथै ढोल्यामोडबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार थालेको थियो।
दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।