बैतडीमा भएको जन्तीबस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। यसअघि ६ जनाको मृत्यु भएकामा थप दुई घाइतेको मृत्यु भएको प्रहरीले जनाएको छ।
बैतडीका प्रहरी प्रमुख डिएसपी दीपककुमार रायका अनुसार हाल ४३ जना घाइते छन्।
यसअघि बझाङको बित्थडचिर गाउँपालिका – ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी र केदारस्यूँ गाउँपालिकका ६० वर्षीय मोहनदेव भट्टको सनाखत भएको थियो।
त्यस्तै मृतकहरू बझाङको जयपृथ्वी नगरपालिका – ७ का ४० वर्षीय वसन्तराज रतला र बैतडीको पचौंडी नगरपालिका – ७ की ४० वर्षीया पुष्पा अवस्थीको पनि पहिचान खुलेको छ।
घाइतेमध्ये थप दुई जना बित्थडचिर गाउँपालिका–७ का ४१ वर्षीय विष्णुदत्त जोशी र सोही ठाउँकै ४२ वर्षीय नरेशराज जोशीको मृत्यु भएको हो।
अन्य ४३ घाइतेलाई उपचारका लागि स्वास्थ्य चौकी कोटीला पठाइएको डिएसपी रायले जानकारी दिए।
केही गम्भीर घाइतेलाई डडेलधुराको उपक्षत्रीय अस्पताल रिफर गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडुले बताए।
बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर घरतर्फ फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडबाट सु. प्र. ०२–००१ ख १११९ नम्बरको बस झन्डै एक सय मिटर तल खसेको हो।
बिहीबार बेलुका साढे ७ बजेतिर भएको दुर्घटनाको खबर पाउनासाथ पुर्चौडीका साथै ढोल्यामोडबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार थालेको थियो।
दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
बेहुला र बेहुली भने छुट्टै गाडीमा भएकाले उनीहरू सुरक्षित घर पुगेको प्रहरीले जानकारी दिएको छ।