बैतडीमा जन्तीबस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ।
उपचारका क्रममा घाइतेमध्ये थप पाँच जनाको डडेलधुरा अस्पतालमा मृत्यु भएको हो।
मृतकमध्ये बित्थडचिर गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय केशवराज जोशी बुवा र १३ वर्षीय अशोकराज जोशी छोरा हुन्। बित्थडचिर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष दिनेशबहादुर अधिकारीका अनुसार मतृकमध्ये ४२ वर्षीय नरेशराज जोशी र ४१ वर्षीय विष्णुदत्त जोशी पनि एकाघरका दाजु भाइ अर्थात् बेहुलाका काकाहरू हुन्। २४ वर्षीय वशन्त जोशी बेहुलाका काकाका छोरा अर्थात् नाताले भाइ रहेको वडाध्यक्ष अधिकारीले जानकारी दिए।
वडाध्यक्ष अधिकारीका अनुसार मृतकमध्ये बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का ४० वर्षीय वशन्तराज रतला नाताले बेलुकाका भिनाजु हुन्।
मृतक सबै २८ वर्षीय बेहुला माधव जोशीका एकाघरका काका भतिज र आफन्त परेको हुँदा वडा नै शोकमा डुबेको वडाध्यक्ष अधिकारीले बताए।
डडेलधुरा अस्पतालमा उपचारका क्रममा बझाङ बित्थडचिर गाउँपालिका वडा नम्बर ७ का १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, केदारस्युँ गाउँपालिकका वडा नम्बर ७ का २७ वर्षीय केशवराज भट्ट र पुर्चौडी नगरपालिका वडा नम्बर ७ का १४ वर्षीया सुशील जोशीको उपचारका क्रममा मृत्यु भएको हो।
पुर्चौडी नगरपालिका वडा नम्बर ७ की ४० वर्षीया पुष्पा अवस्थी र केदारस्युँ गाउँपालिकका ६० वर्षीय मोहनदेव भट्टको पनि दुर्घटनामा मृत्यु भएको छ।
‘म अहिले घटनास्थलमै आइपुगेको छु,’ उनले भने ‘यहाँको स्थिति निकै भयावह छ। गाउँ नै शोकमा डुबेको अवस्था छ।’
बेहुलाका बुवाका चार–पाँच जना दाजु भाइ रहेको उनले बताए।
‘बिहान जन्ती गएका उनीहरू बेहुली लिएर घर फर्कने क्रममा दुलहीको माइतीबाट एक किलोमिटर पनि नपुग्दै दुर्घटनामा परेको दुःखद घटना छ,’ उनले भने।
बेहुला र बेहुली भने छुट्टै गाडीमा सवार थिए। दुर्घटना लगतै फरार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालका ४२ वर्षीय बसका चालक वीरेन्द्र बुढालाई मध्यरात प्रहरीले नियन्त्रणमा लिएको थियो। दुर्घटनाको कारण खुलिनसकेको प्रहरीले जानकारी दिएको छ।
बैतडीका प्रहरी प्रमुख डिएसपी दीपककुमार रायले मृतक सबैको सनाखत भएको र घाइते ३४ जनाको उपचार भइरहेको जानकारी दिए।
प्रहरीका अनुसार बसमा सवार १८ महिला र २७ जना पुरूष गरी ४५ जनालाई उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी पुर्याइएको थियो। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलदेब बडूका अनुसार गम्भीर घाइते केहीलाई थप उपचारका लागि डडेलधुराको उपक्षेत्रीय अस्पतालका लागि रिफर गरिएको छ।
बिहीबार बेलुका साढे सात बजेतिर जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ७ भौनीबाट बेहुली लिएर घरतर्फ फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोड बाट सु.प्र ०२ ००१ ख १११९ नम्बरको बस बस झन्डै एक सय मिटरमुनि खस्न पुगेको थियो।
बैतडीको पुर्चौडीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्कने क्रममा जन्ती बस मोडबाट खसेको थियो। दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।