इक्वेडरको गुयाकिल सहरमा प्रार्थना चलिरहेका बेला चर्चको भित्तामा झुन्ड्याइएको जिजसको प्रतिमा भएको काठको क्रस खसेर एक क्याथोलिक पादरीको मृत्यु भएको छ।
शनिबार साँझ 'आवर लेडी अफ पर्पेच्युअल हेल्प' चर्चमा भएको दुर्घटनामा पादरी पेट्रिसियो अल्फ्रेडो सान्चेज मोलिनारीको मृत्यु भएको हो।
चर्च प्रशासनले उनको निधन पुष्टि गरेको छ।
प्रार्थना सभाको सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण भइरहेको थियो। त्यसै क्रममा भित्तामा रहेको क्रस खुसेर पादरीको टाउकोमा लागेको समाचार संस्था एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ। उक्त क्रसमा जिजसको प्रतिमा थियो। यस्तो क्रसलाई 'क्रुसिफिक्स' भनिन्छ।
एनबिसी न्युजका अनुसार दुर्घटना हुँदा सान्चेज प्रार्थनामा सहभागीहरूतर्फ फर्किरहेका थिए। उनले आफ्नो पछाडिबाट क्रस खस्दै गरेको देखेका थिएनन्।
भिडिओमा क्रसले लागेपछि उनी ढलेको र सहभागीहरू आत्तिँदै उनलाई सघाउन दौडिएको देखिन्छ। प्रत्यक्ष प्रसारणको भिडिओ पछि हटाइएको उक्त एनबिसी समाचार संस्थाले जनाएको छ।
दुर्घटनाअघि सान्चेजले आफ्नो प्रवचनमा जीवनको क्षणभंगुरता, ईश्वर र परिवारका लागि समय छुट्ट्याउनुको महत्त्वबारे बोलेका थिए।
'द इकोनोमिक टाइम्स' का अनुसार उनले एक दिन सबैको मृत्यु हुने भन्दै जीवनको समय अर्थपूर्ण काममा लगाउन आग्रह गरेका थिए।
सान्चेज उक्त चर्चका पादरीका साथै 'कंग्रिगेसन अफ द मोस्ट होली रिडिमर' नामक क्याथोलिक धार्मिक समुदायका सदस्य थिए। सन् १७३२ मा स्थापना भएको यो समुदाय गरिब तथा उपेक्षित मानिसहरूमाझ धार्मिक सेवा र प्रचारमा केन्द्रित छ।
उनले यसअघि इक्वेडरकै लस रिओस प्रान्तस्थित सान लोरेन्जो डे भिन्सेस चर्चमा पनि सेवा गरेका थिए।
भित्तामा जडान गरिएको क्रस के कारणले खसेको हो भन्ने खुलिसकेको छैन।