म उस्तै नबिझाउने मुलायम भुवादार सिरक जस्तै जिउन चाहन्थेँ। जिन्दगीलाई आफैले सम्बोधन गरिरहन्थेँ। आफ्ना बाटाहरू जसले गन्तव्यसम्म पुर्याउने चेष्टा राखे ती सबैप्रति असीम सम्मान त छँदै नै थियो। आफूले जिउने जीवनसँग पहिलो चोटि मोह भंग भएको मैले पहिलो प्रेममा धोका खाएपछि हो। उनलाई नै सबथोक देखेपछि हो। सायद नौला संस्मरणहरू यसरी नै बन्दा रहेछन्।
पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टिङ भयो मेरो चिकित्सकका रूपमा।
म खुसी नै थिएँ। जिन्दगीका टाइम मेसिनहरूमा चढ्दा चढ्दै कहाँदेखि कहाँसम्म पुगिन्छ त्यो समयले नै बताउँदै थियो। कहिलेकाहीँ समयको अनुहार पनि बडो सल्केको सिग्रेट जस्तो पाउथेँ। जो बआफू धुँवा मात्र बन्न बाँकी छ र पनि बट्टा भित्रका सलाईका काँटीहरूलाई अन्तिम इच्छा सोध्ने हिम्मत राख्थ्यो।
पोखरा सुन्दर नगरी भए पनि मेरो मन त्यति लागिरहेको थिएन। हाफ प्यान्ट लगाएर म यसै फेवा किनारतिर टहलिरहन्थेँ। एउटा मात्र गोजी भएको त्यो हाफ प्यान्टभित्र आफूलाई चाहिने खुद्रा पैसाहरू संगालेर म पोखराका बस्तीहरू, पार्कहरू, संग्रहालयहरू अनि संयोग र वियोगहरू भेटिने ठाउँहरू सप्पै सप्पै चाहरिरहन्थेँ।
विछोड भएको एक साल भइसक्दा पनि मलाई उनकै माया, मोहले थिचिरहेको थियो। पोखरा जस्तो रंगीन दुनियाँमा पनि मेरो मन बेरंग बेरंग बाँचेको थियो। म उड्न सकिरहेको थिइनँ। म जति नै सेरोफेरो डुले पनि आफैभित्र गायब भइरहेको थिएँ।
यसो पनि सोचिबस्थेँ कि जसो- 'मलाई अब मन पराउने नै को हुन्छ होला? जोआफै ढुंगो भएर बाँचिरहेको छ। जसले प्रेमको अब कुनै दस्तखत गर्न सक्दैन। मात्र भुइँमा थुप्रिएका कमिलाहरू हेरी बस्छ। ती कमिलाहरू पुग्ने गन्तव्य खोजी बस्छ अनि पछि पछि लाग्छ। कसैको ठट्टासँग कहिल्यै हाँस्दैन। मात्र निरंकुश भएर पस्किन्छ।'
यस्तैमा एकदिन फेवा किनारमा बसेर आफ्नै छाती भित्रबाट निकालेको मुटुका टुक्राहरू झैं लाग्ने मट्यांग्राहरू फालिरहेको थिएँ। पानीमा उछिट्टिँदा त्यसले पैदा गरेको तरंगहरू सँगै मेरो मनले सन्तोषको सास फेरिरहेको थियो। ती मट्यांग्राहरू अन्तिम तरंग पैदा गरेपश्चात डुबेका थिए गहिरो तालको पर्छायामा र बिलाएका थिए मेरा आँखाबाट।
व्यथित मन थियो आफ्नो त्यसैले त दमको रोगी जस्तै लाग्थ्यो प्रकृति। जसले जोड गरी गरी बतास सुसाइरहन्थ्यो। आफ्नै छायामा अडेस लागेको रूख अनि त्यसकै मुन्तिर कटक्क दुखेर अल्झिएको थिएँ म। म भित्रको अट्टाहासलाई देखेर फेवाताल पनि पानी पानी भनेर तड्पिरहेछ जस्तो लाग्थ्यो।
त्यस्तैमा देखेँ एक जना युवती आडैमा बसेर किताब पढिरहेकी थिई। हर्दै खेरी एक टुक्रा साँझ धर्तीमा खस्दा धपक्क बल्ने आरती जस्ती। म उनको समिप पुगेँ। किताबको मोहनी युक्त साम्राज्यबाट ऊ फुत्किन चाहिरहेकी थिइन्। बित्थामा मैले नै ओह्रालेँ। उसले किताब तिरका आँखा मतिर तेर्साइ। कुनै क्यान्सरको फाइनल स्टेजको बिरामी जस्तो लागे होला म उसलाई। म भित्रको अब्जेक्ट भित्र कुनै विनम्रता नपाएपछि उसले सोधी- 'सन्चै त हुनुहुन्छ?' म फेरि उही टोलाए जस्तो गरी भनिरहें- 'ठिकै नै छु। केही आपत परिसकेको छैन।'
बीच जंगलमै छुटेका जस्ता लामो यात्राका यात्री जस्ता देखियौं हामी। सुनसान व्याप्त थियो। वरपर कुनै घर थिएन। यस्तोमा ऊ सञ्जीव उप्रेतीको 'घनचक्कर' पढिरहेकी थिई। हामी दुवैले आफूले छाडेर आएका पदचापहरूका बारेमा, उकाली ओरालीका बारेमा, घुम्ती मोडहरूका बारेमा गफियौं। उनको नाम अनुपमा रहेछ। जिल्ला अदालतमा इजलास अधिकृत। हालसालै मात्र रौतहटबाट सरूवा भएर कास्की आएकी।
मेरो मनले फेरि कतै प्रेमको टुसा उम्रिने मिराकल र पोसिबलिटिजहरूका सम्बन्धमा मलाई प्रश्न सोधिरहेको थियो। मैले पूरै इन्कार गरिदिएँ। कुनै आशा बाँकी थिएन। कुनै कमन इन्ट्रेस्टहरूमा अब म फेरि कसैको प्रेममा शान्त र स्थिर हुन सक्दिनथेँ।
त्यहाँबाट हामी छुट्टियौं । ऊ आफ्नो बासस्थानतर्फ लागी भने म आफ्नो क्वाटरतर्फ।
दिन यसरी नै बितिरहेको थियो। ऊसँग फेरि कहिल्यै भेट नहोस् भन्ने इच्छा राख्दा राख्दै भगवानले दोस्रो भेट गराइदिए त्यो पनि अस्पतालमा।
दुई तीनदेखि ज्वोरो आएपछि ऊ मेरै ओपिडीमा चेकजाँच गर्न आइपुगेकी थिई। बिरामी पुर्जामा नाम हेर्दै उसको अनुहार हेरिरहेँ। अस्ति भन्दा अलिकति निभेकी जस्ती।
'फेवा किनारमा भेटिएकी उही अनुपमा कता हराउनुभयो? भेट्टाउनुभयो भने मलाई खबर गर्नुहोला।' मैले उसलाई हल्का गिज्याए जसरी सोधेँ।
उसले नसक्दा नसक्दै पनि हाँसेर साथ दिन कोसिस गरी। रगत जाँचहरू गरिसकेपश्चात औषधि लिएर फर्की। ३-४ दिन पश्चात फलोअपमा आउन मैले आग्रह गरेको थिएँ। तर गएकै साँझ उसको म्यासेच आयो म्यासेन्जरमा। मैले रिक्वेष्ट एसेप्ट गरें। ऊ बोल्ने बाहना खोज्दै 'औषधि कति खेर खाने?' भनेर सोध्दै थिई।
मैले बुझिहालेँ।
'कता बस्छ्यौ? को सँग? एक्लै कि?' सबै सोधेर भ्याउँदा उसले फटाफट उत्तर दिइराखी। लाग्थ्यो ऊ तम्तयार बसेकी छे उत्तर सहित।
एक्लै बसेकी रहिछे। बिरामी पर्दा त गाह्रो पो हुन्छ। रोगले न जात हेर्छ न त्यसको स्तर हेर्छ। त कुनै वादको अंगालो हालेर कसैलाई छुट्कारा नै दिन्छ। म आफैले सम्झिएँ आफू बिरामी पर्दा एक्लो निरस भएर गाह्रो भएको क्षण। अनि हतास मानसिकता बोकेर अनुपमा भएको ठाउँमा पुगेर सहयोग गर्ने निचोडमा पुगेँ।
उसलाई भनेको थिइनँ म आउँछु भनेर। उसले दिएको ठेगानाको पछि लाग्दै सोधपुछ गर्दै उसको डेरासम्म पुगेँ। ढकढक गरेँ। निकै बेरपछि खोली।मलाई ढोकामा देखेर- 'ओहो! डा साब बिरामीको सेवा गर्न घरमै पो आउनुभो' भन्न थाली।
कोठा अस्तव्यस्त रहेछ। बिरामी भएपछि उसले केही गर्न सकेकी रहेनछे। मैले सबै सरसफाइ गर्नेदेखि लिएर सामान ल्याउने बन्दोबस्त मिलाइदिएँ। औषधिहरू हेरिदिएँ। खाना पकाएर छोडिदिएँ। अनि ड्युटीमा गएँ। उसले खाना खाएपछि फोन गर्दै भनी- 'डा साबलाई त खाना पकाउने काममा नोबेल प्राइज नै पो दिनुपर्ने रहेछ। यस्तो मुख नमिठो हुँदा नि मिठो लाग्दै छ हजुरले पकाएको खाना।'
म अनुपमाका हरेक बोलीमा लठ्ठिदै गएँ। त्यो खुसी कुनै कस्मेटिक थिएन। ऊ सन्चो भएपछि हाम्रो भेट बाक्लियो। हामी एक अर्कालाई निकै नै प्रिय लाग्ने भइसकेका थियौं भने म चाहिँ मेरा विगतबाट धेरै अघि बढिसकेको थिएँ।
हामी विकेन्ड मनाउन शुक्रबार सिक्लेसतर्फ लाग्यौं। काँचको गिलासमा लोकल रक्सी भरेर हामी मासु आइटममा रमायौं। केही क्षण गीत बजाएर होटलकै आगनीमा नाच्यौं। घुम्यौं, रमायौं। अनि सुत्न ओछ्यानतर्फ लाग्यौं। मैले त्यसै रात आफू भित्रका हजारौं कष्टहरू बिसाएँ। सुन्दर चुम्बन ओठमा रंगिएपछि एकअर्कामा समाहित भयौं। त्यो सौभाग्य थियो हामी दुवैका लागि। एउटा सुन्दर उत्सव जस्तै। मेरा लागि त्यो ओछ्यान ओछ्यान मात्र थिएन धेरैपछि आफ्नो मन पर्ने मान्छेसँग रातभरी अंकमाल गरी बिताएको एउटा सुन्दर फूलबारी थियो। म उडिरहेको थिएँ उसलाई अंगालेरै।पुतलीका रंगिन आत्माहरू आफूमा बोकेर। कसैले हामीलाई डिस्टर्ब नगरोस् भन्ने भावमा बिछ्याइएको थियो हामी सुतिरहेको ओछ्यान- एउटा कविले लेखेको कविता जस्तै र चित्रकारले कोरेको स्केच जस्तै।
छर्लंग देखिने हिमाल जस्तै जवान भएर उठ्यौं। अनि ब्रेकफास्ट लिएर पोखराका लागि हानियौं। यसरी नै हाम्रा कति रातहरू पोखराका डाँडाहरूमा बिते। रक्सी खान हुन्न भन्दा भन्दै हामी सिरिज अफ माउन्टेनको दुनियाँमा हराउन समेत यसको साथ लिने भयौं।
लेकसाइडका क्याफेहरूमा पिएको त्यो कफी अनि सेतीका बगरहरूमा उम्रिएको हाम्रो माया। पञ्चासेको फूल राखी बाटो छेक्दा छेक्दै चुचुरो भेट्टाउन आधार शिविरबाट उक्लिएको हाम्रो प्रेम। रूपामा जाल फिजाएर बेगनासमा माछाको झोल खान पल्किएका हाम्रा सम्बन्धहरू। काँहु डाँडा र सरानकोट थर्किने गरी फिजिएका हामी भित्रका हाँसोहरू।
एक वर्ष बित्यो हामीसँगै भएको। एकदिन उसैगरी हामी पहिलो दिन भेटिएको फेवा किनारमा भेटिने भयौं। अन्तिम इच्छा जाहेर गर्नुछ तिमीसँग भनेर उसले बोलाएकी थिई।
म पनि आफ्नो बिहे गर्ने इच्छा जाहेर गरौंला भनेर फुरूंग बनेर पुगेको थिएँ।
जब म पुगेँ, ऊ अघि नै पुगेर सरूभक्तको 'पागल बस्ती' पढिरहेकी थिई।
ऊ, म त्यहाँ पुग्दा पनि कति बिचलित भइन, न त कुनै फुरुंग मुडमा नै देखिई। मुर्दाघर झैं सुनसान थियो वरिपरि। अन्तिन इच्छा प्रकट गर्ने उनको लोकेसन सुट गर्दे थियो। उसले भन्न थाली- 'मेरो सरूवा भयो। अब म पूर्वतिर लाग्दैछु। भोलिदेखि पोखराको यो भीडबाट डाइनोसर झैं लोप हुनेछु।'
मैले खुसी हुँदै भनेँ- 'के भो त पूर्व झन् बबाल छ। म पनि उतै सरूवा गरौंला नि। सँगै एउटै सहरमा बसौंला। के छ र!'
यत्तिकै मा उसले भनी- 'तिमी मेरो पछि लाग्दै लाग्दै आउनेछैनौ भन्ने नै मेरो अन्तिम इच्छा हो!'
म अवाक भएँ।
मेरो मनको फित्ता चुँडियो। चुँडिएको आवाजले कान टिनिनिनिननन भयो। ऊ कति सजिलै यो आपसी प्रेमको पाठशाला बंक गर्ने सोच्दै थिई।लाग्थ्यो ऊ आफ्नो प्रेमको बिक्न बाँकी केही कृत्यहरु बेच्न सेल्सम्यान बनेर पोखरा आएकी थिई। यताको काम सकियो त फेरि ऊ अर्को ठाउँ खोज्दै थिई। मलाई चिच्याउन मन लाग्यो। सकिनँ।
'यति साह्रो मरिहत्ते मैले के का लागि गरेँ? यो सहरको पिँधमा म जसोतसो आफूलाई जतन साथ राखेर खुसी बाँचिरहेकै थिएँ। फेरि चिप्लिएर फुत्त खस्ने काँक्रोको बियाँ हुन पुगेँ।'
बस् सोचिरहें।
ऊ चुपचाप उठी त्यहाँबाट। तालमा फ्याँकिएको मट्यांग्रा जस्तै म बिस्तारै बिस्तारै आफै भित्र डुब्दै गएँ।
ऊ डुब्न लागेको घाम जस्तै बिलिन हुँदै गई।
पत्र मञ्जुषामा खसालिए पनि कहिल्यै नखोलिएको पत्र जस्तै भयो हाम्रो प्रेम।
उनको दुब्लो दुब्लो ज्यान, बदामी आँखा अनि गालाको बिचतिरको कोठी जसले मेरा निद्राहरू धेरै बिथोलेर लगे। आजकल पुराना सम्बन्धहरू मित भएर बसेका छन् मेरा मगजमा र बेला बेला मलाई सोधिरहन्छन्- 'अर्को मीतज्यूसँग हामीलाई कहिले भेटाउनुहुन्छ?'