छुटाउन खोज्दा झन् कस्सिने हात
छोड्न खोज्दा झन् बलियोसँग बाँधिने मन
टाढा हुन खोज्दा झन् नजिकिँदै जाने दूरी
भुल्न खोज्दा झन् गहिरिने याद।
एउटै आकाशमुनि
हाम्रो बिहान फरक–फरक ढोकाबाट खुल्छ
तिम्रो सहरमा घाम उक्लिँदा
मेरो झ्यालमा रातको कालो पर्दाले ढाक्छ।
हाम्रो बीचमा
कति सहर, कति बाटा र कति समय छन्
रेलका लामा सुस्केरा,
निदाएका विमानस्थल,
नक्सामा कोरिएका अनगिन्ती रेखाहरू,
तिमी दिनको उज्यालोमा
यादसँग हिँडिरहेका हुन्छौ
म त्यही यादलाई सिरानीमा राखेर
निदाउने बहाना गरिरहेकी हुन्छु।
कहिलेकाहीँ
समयभन्दा लामो लाग्छ प्रतीक्षा
दूरीभन्दा गहिरो लाग्छ सम्झना
तर पनि
हरेक साँझ सम्झनाले
एकान्तको ढोका ढकढक्याइरहन्छ
भोलिको भेटको कल्पनामा
आजलाई चुपचाप बिताइरहन्छ।
कुनै दिन
फरक समयहरू एउटै घडीमा मिल्नेछन्
टाढा–टाढा फैलिएका आकाशहरू
एउटै छानामुनि साँघुरिनेछन्
आज क्षितिजपारि मात्र देखिने
हाम्रो भेट
भोलि साँच्चिकै
एक–अर्काको छेउमा हुनेछ।